नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर कारोबार आज (सोमबार) देखि खुला भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९५ रुपैयाँमा खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
'टिएएमओआर' संकेतमा कम्पनीको कारोबार खुला भएको हो।
कम्पनीको ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाहरूलाई निष्कासन गरेको ३३ लाख ३२ हजार ५०० कित्ता सेयर, कर्मचारीहरूलाई वितरण गरिएको १६ लाख ६६ हजार २५० कित्ता सेयर, र सर्वसाधारण सेयरधनीहरू (सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली समेत) गरी ४९ लाख ९८ हजार ७५० कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड ३३ लाख २७ हजार ५०० कित्ता गरी कुल ३ करोड ३३ लाख २५ हजार कित्ता नेप्सेमा सूचीकृत गराएको थियो।
कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसाको ओपनिङ रेन्ज पाएको थियो। सोही आधारमा आज कम्पनीको कारोबार खुलेको हो।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
यस अवधिसम्म कम्पनीको सेयरमूल्य ९.१५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३२२ रुपैयाँ पुगेको छ।