नेपालका बैंकहरू बलिया रहेको र नढलन्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।
मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा राष्ट्र बैंकले आयोजना गरेको कार्यकममा गभर्नरले यस्तो बताएका हुन्।
उनले नेपाली बैंकको पुँजी पर्याप्तता अनुपात तोकिएको ११ प्रतिशतभन्दा धेरै रहेको, खराब कर्जा बढेको भएपनि चिन्ताजनक अवस्था नरहेको र बैंकहरूको खुद तरलता अनुपात २४ प्रतिशत रहेको बताए।
त्यस्तै, माघदेखि निक्षेपको ब्याजदर र कर्जाको लागि लिने आधार ब्याजदर पनि घट्ने क्रममा रहेको कार्यकममा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए।
राष्ट्र बैंकका अनुसार मुलुकको शोधनान्तर १ खर्ब ४८ अर्ब पुगेको छ।
मासिक रेमिटेन्स औषत ९९ अर्बले भित्रिरहेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको हो। फागुन महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ।
मुलुकको विदेशी मुद्रा सञ्चिति १०.७ अर्ब डलर पुगेको छ। यस्तो सञ्चितिले ९ महीना १२ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।
त्यस्तै, ४.५ प्रतिशतको मलुकको आर्थिक वृद्धिको अनुमान राष्ट्र बैंकको छ।
त्यस्तै, फागुनमा मूल्य वृद्धि ७.४४ प्रतिशत छ। यसअघि माघमा ७.८८ प्रतिशत मूल्य वृद्धि थियो।