नेपाल बैंकर संघले निक्षेपको ब्याजदर एकल अंकमा सीमित राख्ने निर्णय गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको छ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १.०१ ले घटेर ९.९९ प्रतिशत कायम गरिएको छ। अन्य निक्षेपको पनि व्याजदर घटाइएको छ। निक्षेपको ब्याजदर र सेयर बजारको प्रायः प्रवृत्ति विपरीत हुन्छ।
ब्याजदर बढ्दा सेयर बजार घट्छ भने ब्याजदर घट्दा सेयर बजार बढ्छ। त्यसबाहेक निक्षेपको ब्याज घट्दा कर्जाको ब्याजदर पनि घट्छ।
यसैको प्रभाव आजको सेयर बजारमा परेको हो। बुधबार नेप्से परिसूचक ९२.२२ अंकले बढेको छ।
यस दिन नेप्से ४.९३ प्रतिशतले बढेर १९६३.५५ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँ पुगेको छ।
यस दिन २६७ वटा धितोपत्रको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर किनबेच भएको हो।
बुधबार पाँच कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
यसदिन सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यसैगरी, एभरेष्ट बैंकको डिवेञ्चरको मूल्य सर्वाधिक १.९९ प्रतिशतले घटेको छ।
उक्त डिवेञ्चरको मूल्य ७७७ रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, सिभिल बैंक डिवेञ्चर २०८८ को मूल्य १.१८ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८३४ रुपैयाँमा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ६.८४ प्रतिशतले बढेको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४१३ रुपैयाँमा ११ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ७३० रुपैयाँमा ६ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।