नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को आज नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै पाँचजनाको प्रतिपरिवारको रु दुई हजार ५०० लाग्नेमा रु एक हजार २५० नगरपालिकाले व्यहोर्ने भएको हो ।
नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विपन्न परिवारका लागि व्यापार व्यवसाय सञ्चालनका लागि हरेक वडाका पाँच परिवारलाई रु तीन लाखदेखि पाँच लाखसम्म अनुदान रकम उपलब्ध गराउन लागेको जानकारी दिए।
उनले हरेक परिवारलाई सुन्तला, कागती, एवोकाडोलगायतका फलफूलको विरुवा निःशुल्क वितरण गर्न लागेको बताए । नगरपालिकाले वडाबाट आएका सिफारिसलाई उच्च प्राथमिकता दिएको छ । बस्नेतले भने , “हामी जनप्रतिनिधि हौँ, जनताको आवश्यकतालाई उच्च प्राथमिकता दिएका छौँ ।”
नगरपालिकाले आव २०७४-०७५ का लागि रु ६४ करोड ७२ लाख ९० हजार प्रस्ताव गरेको छ जसमा चालू खर्च रु २१ करोड ६९ लाख ९० हजार, पूँजीगत खर्च रु २३ करोड ५३ लाख, समपूरक कोष रु चार करोड ५० लाख र नपा तथा वडाका भवन निर्माणतर्फ रु १५ करोड छ ।
पहिलो नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दे उपप्रमुख सुशीला अधिकारीले वातावरणमैत्री नगरपालिका निर्माण, फोहोरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको बताइन ।
उनले भूकम्पबाट पूर्ण क्षति भएका परिवारलाई जतिसक्दो चाँडो अनुदान रकम उपलब्ध गराउन नगरपालिका लागेको बताउँदै पीडितको घर नक्सापास दस्तुर छुट दिन लागिएको बताइन।
यस्तै सुशासन कायम, स्वीजरल्याण्ड पार्क व्यवस्थापन, महिला विद्यालय, ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण, बढी कर तिर्ने करदातालाई प्रोत्साहन, होमस्टे सञ्चालनलगायत कार्यलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । रासस