सम्पूर्ण रकम एकमुष्ट तिरेर गाडी खरिद गर्न सहज छैन, त्यसैले सवारी साधनको खरिदमा बैंकले दिने फाइनान्सिङ सुविधाको व्यवस्थाले निकै महत्व राख्दछ।
गाडी किन्नुअघि विशेषता मात्रै होइन, फाइनान्सिङ प्रक्रिया र व्याजदरबारे पनि राम्रोसँग जानकारी लिनुपर्दछ। गाडीको कुल मूल्यको ३५ प्रतिशत मात्रै रकम सुरुमा भुक्तानी (डाउनपेमेन्ट) गरेर बाँकी रहेको ६५ प्रतिशतसम्मको रकम ‘इन्स्टलमेन्ट’मा भुक्तानी गर्दै जान पाइने व्यवस्था पछिल्लो मौद्रिक नीतिले अवलम्वन गरेको छ।
राष्ट्र बैंकले यो व्यवस्थालाई समयअनुसार परिवर्तन पनि गर्दै आएको छ। यसअघि गत माघदेखि असारसम्म ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था थियो भने त्यसअघि २० प्रतिशत मात्रै भुक्तानी गरे हुने व्यवस्था थियो।
हाल चलिरहेको नाडा अटो शोमा विभिन्न कम्पनीहरुले बैंकसँगको सहकार्यमा प्रक्रिया सहज बनाउन र सस्तो व्याजदर प्रदान गर्न प्रयास गरेको देखिन्छ। टाटाका एसिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीले आफ्नो कम्पनीले स्टान्डर्ड चार्टड र सिभिल बैंकसँग सहकार्य गरेर सस्तो व्याजदरमा फाइनान्सिङ सुविधा प्रदान गर्ने गरेको बताउँछन्।
डाट्सन गाडीको प्रवद्र्धन गर्दै आएको पायोनियर मोटोकर्पका म्यानेजर दिपेन प्रधानले एनआइसी एसिया बैंकसँग फाइनान्सिङ सहकार्य गरिएको जानकारी दिए। सो बैंकले जुनसुकै कम्पनीको गाडी किन्दा कुनै प्रक्रियागत र प्रशासनिक शुल्क नलिने जनाएको छ।
अन्य बैंकहरुले पनि मेलालाई मध्यनजर गर्दै प्रक्रिया तथा व्याजदरमा सहुलियत दिने प्रयास गरेका छन्। केही कम्पनीहरुले विश्वासका आधारमा आफ्नै प्रयासमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा दिएका छन्।
‘डाउनपेमेन्ट’मा पनि केहीले २५ प्रतिशत नगद तथा १० प्रतिशत ‘पीडीसी चेक’ (भविष्यमा तिर्ने सर्त गरी खरिदकर्ताले कम्पनीलाई बुझाउने चेक) को व्यवस्था समेत गरेका छन्। यसले गर्दा गाडी खरिदका फाइनान्सिङ सुविधा अत्यन्तै सहज देखिन्छ।
अब हेरौँ, विभिन्न कम्पनीहरुसँग सहकार्य गरेका केही बैंकहरुले सवारी कर्जामा लिने ब्याजदरः प्रभु बैंकले ७ वर्षको समयावधिका लागि १२ दशमलव २६ प्रतिशत व्याजदरमा गाडीका लागि कर्जा प्रवाह गर्ने गरेको छ। सिभिल बैंकले ७ वर्षकै अवधिको लागि ११ दशमलव ५९ प्रतिशत व्याजदरमा यस्तो कर्जा दिने गरेको छ।
सानिमा बैंकले ७ वर्षकै समयावधिको १२ दशमलव ५० प्रतिशत व्याजदरमा अटो कर्जा प्रदान गर्दै आएको जनाएको छ। ७ वर्षकै अवधिको हिमालयन बैंकले यस्तो कर्जामा लिने ब्याजदर १० दशमलव ५० प्रतिशत छ।
बैंक अफ काठमाडौंले सोही अवधिको लागि ११ प्रतिशत व्याजदरमा गाडीका लागि कर्जा प्रदान गर्दछ। ग्लोबल आइएमई बैंकको सोही अवधिका लागि व्याजदर ११ दशमलव ४० प्रतिशत छ। लक्ष्मी बैंकले ९ वर्षको अवधिका लागि ब्याजदर १० दशमलव ८२ प्रतिशत तोकेको छ। एनआइसी एशियाले ७ वर्षको अवधिको लागि व्याजदर ११ दशलमव २५ प्रतिशत राखेको छ।
व्याजदरको हिसावमा एभरेष्ट बैंक सस्तो देखिन्छ। ७ वर्षको अवधिका लागि उसले लिने व्याजदर जम्मा ८.९९ प्रतिशत छ। त्यस्तै स्टान्डर्ड चार्टडले ६ वर्षको अवधिका लागि ९ दशमलव ५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले ७ वर्षको अवधिका लागि ९ प्रतिशत तोकेको छ।
यी बाहेकका अन्य बैंकहरुले पनि सवारी कर्जा दिने गरेका छन्। भुक्तानी गर्ने समयावधिअनुसार व्याजदर पनि फरक फरक छ भने सुरुमा धेरै भुक्तानी गर्नेका लागि व्याजदरमा थप सहुलियत मिल्ने कम्पनीहरु बताउँछन्।
७ वर्षे अवधिका लागि निम्न मूल्यको गाडी र व्याजदरमा मासिक भुक्तानी गर्नुपर्ने रकम:
व्याजदर |
२२ लाखको गाडीमा मासिक भुक्तानी रकम |
३० लाखको गाडीमा मासिक भुक्तानी रकम |
९ प्रतिशत |
३५,३९६ |
४८, २६७ |
१० प्रतिशत |
३६,५२३ |
४९,८०३ |
११ प्रतिशत |
३७, ६६९ |
५१,३६७ |
१२ प्रतिशत |
३८,८३६ |
५२,९५८ |
१३ प्रतिशत |
४०,०२२ |
५४,५७५ |
उहीँ व्याजदर र अवधिका लागि गाडीको मूल्य दोब्बर हुँदा तिर्नुपर्ने रकम पनि दोब्बर हुन जान्छ!