आर्थिक वर्ष २०७५/७६ देखि सेयर कारोबार गर्न प्यान अर्थात स्थायी लेखा नम्वर अनिवार्य गरिने भएको छ। दोस्रो बजारमा प्रवेश गर्नेलाई प्यान नम्वर अनिवार्य गर्नेगरी धितोपत्र बोर्डले आवश्यक नीतिगत व्यवस्था गर्ने भएको छ।
आज आयोजित धितोपत्रसम्वन्धी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बोर्डले यस्तो कुराको जानकारी दिएको हो।
बोर्डका उपनिर्देशक तथा सहप्रवक्ता निरञ्जय घिमिरेले प्यान नम्वर लिएर कारोबार गर्दा पुँजी बजारमा पारदर्शिता बढ्ने र वास्तविक लगानीकर्ताको पहिचान हुने उल्लेख गरे। प्यान नम्वर लिएर कारोबार गर्दा अवैधानिक रकम बजारमा आउनबाट रोकिने र विश्वसनियता बढ्ने बोर्डको भनाइ छ।
‘यो हाम्रो नीति तथा कार्यक्रममा परेको छ, प्यान नम्वर लिएर कारोबार गर्नका लागि कुनै समस्या छैन, यसलाई लागू गर्नेगरी बोर्ड अगाडि बढ्नेछ’ घिमिरेले भने।
ठूला संस्थागत लगानीकर्तालाई भने अहिले पनि प्यान नम्वर अनिवार्य गरिँदै आएको छ। तर व्यक्तिगत लगानीकर्ताले भने आफ्नो नागरिकताको प्रतिलीपी, डिम्याट तथा बैंक खाताका भरमा लगानी गर्दै आएका छन्।
लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले प्यान नम्वर अनिवार्य गर्ने सम्वन्धमा भएका जटिलताहरु फूकाएर अगाडि बढ्न सकिने बताउँछन्। यस विषयका सबल र नकारात्मक दुवै पक्ष केलाएर संघले आधिकारिक धारणा दिने उनले बताए।
यसैबीच दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको संख्या घटेको छ। बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा एक्वीजिसनमा जाँदै गर्दा संख्या घटेको छ। बोर्डको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म कुल २०८ कम्पनी सूचीकृत छन्। अघिल्लो वर्षमा यो संख्या २२९ थियो।
कम्पनीको संख्या घटे पनि दोस्रो बजारमा कारोबार रकम भने बढेको छ। गत आर्थिक वर्षमा २ खर्ब ५ अर्बको कारोबार भएको छ। अघिल्लो वर्ष १ खर्ब ६४ अर्बको कारोबार भएको थियो।
त्यस्तै प्राथमिक सेयरको रकम पनि एक वर्षको अवधिमा ४५ प्रतिशतले घटेको छ। प्राथमिक सेयर निश्कासन गर्ने कम्पनीको संख्या भने २१ प्रतिशतले बढेको बोर्डले जनाएको छ।