नेपाल राष्ट्र बैंकले दसैँका लागि भदौ २८ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाट नयाँ नोटहरु साट्न पाइने राष्ट्र बैंकले जनाएको छ।
मुद्रा व्यवस्थापन विभागबाट एकजनाले अधिकतम २७ हजार रुपैयाँ बराबरको र तीन वाणिज्य बैंकबाट अधिकतम २० हजार रुपैयाँ बराबरको नोट साट्न पाइने छ।
विभागका उपनिर्देशक रुद्रबहादुर घिमिरेका अनुसार बैंकिङ कार्यालय खुल्ने अवधिसम्म सर्वसाधारणले नोट साट्न पाउने छन्।
विभागका अनुसार सर्वसाधारणले ५, १०, २०, ५० र एक सय दरका नोटहरु साट्न पाउने छन्। नेपाल बैंकका कार्यालयहरु न्यूरोड, बालाजु, पाटन औधोगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरबाट नयाँ नोट साट्न पाइने छ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका कार्यालयहरु सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्सालबाट साट्न पाइने छ।
कृषि विकास बैंकका कार्यालयहरु रामशाहपथ, कोटेश्वर, गौशाला, रत्नपार्क र मंगलबजारबाट पनि यो सुविधा पाइने राष्ट्र बैंकले जनाएको छ।
आफूले साट्नका लागि राखेका प्रत्येक नोटहरु एक सयका दरमा प्याकेट बनाएर सोही आधारमा साट्न सक्नेछन्। राष्ट्र बैंकले संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, प्रहरी तथा अन्य संघसंस्थाहरुलाई पत्रका आधारमा मुद्रा व्यवस्थापन विभागबाट भदौ २१ गतेदेखि ३० गतेसम्म साट्न पाउने व्यवस्था गरेको छ।
यीबाहेक अन्य वाणिज्य बैंकहरुले पनि भदौ २८ गतेदेखि नै सर्वसाधारणलाई सफा र सुकिला नयाँ नोट सटही व्यवस्था गर्नेछन्।