नेपाल इन्भेष्टमेन्ट बैंकको गत बुधबार भएको सम्पूर्ण सेयरको किनबेच रद्द हुने भएको छ। नेपाल धितोपत्र बोर्डले बुधबार भएको इन्भेष्टमेन्ट बैंकको कारोबारको राफसाफ नगर्न सिडिएस एण्ड क्लियरिङलाई निर्देशन दिएपछि राफसाफ नहुने भएको हो।
सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताका अनुसार बुधबार भएको सो बैंकको सबै कारोबार राफसाफ हुने छैन।
‘यसको मतलव त्यो दिन सो बैंकको सेयर किन्नेहरुले सेयर पाउँदैनन् र रकम पनि कटौती हुँदैन अर्कोतर्फ बेच्नेहरुसँग सेयर रहीरहन्छ, बिक्री भएको मानिँदैन’ उनले भने।
गत बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांशको सूचना सार्वजनिक गर्दा मिस्टेक भएपछि धितोपत्र बोर्डले सो दिनको राफसाफ नगर्न सिडिएसलाई भनेको हो।
बुधबार बैंकले लाभांश घोषणा गर्ने बेलामा २५ प्रतिशत सेयर बोनस र १५ प्रतिशत नगद लाभांश दिने भनी नेप्सेको साइटमार्फत उल्लेख गरेको थियो। तर सूचना सार्वजनिक भएको केही समयमै पुनः १५ प्रतिशत सेयर बोनस र २५ प्रतिशत नगद लाभांश हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको थियो।
जसले गर्दा लगानीकर्तालाई करोडौंको नोक्सान पुगेको भन्दै सेयर लगानीकर्ता संघले विरोध जनाउँदै आएको थियो।