एनआईसी एसिया बैंकले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट चौथो पटक डलर आयात गरेको छ।
दसैँ तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेहरुको संख्या बढ्ने र डलरको माग पनि बढ्ने भएकाले उक्त मागलाई पूर्ति गर्नका लागि चौथो पटक ५० लाख नगद डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन सुरु गरिएको बैंकले जनाएको छ।
यसअघि बैंकले तीन पटक गरेर ६० लाख नगद डलर आयात गरी ग्राहकलाई उपलब्ध गराइसकेको छ। बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरुमा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ।
डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकेट पनि लिएर आउनुपर्ने तथा त्यस्तो कागजात पूरा गरी आउने प्रत्येक ग्राहकलाई नियमानुसार २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जनाएको छ।
बैंकले हालका लागि काठमाडौंभित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटारबाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
साथै, यस बैंकले विदेश जाने ग्राहकहरुलाई भिजा इन्टरनेसनल डेबिट कार्डमार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ।