केही कम्पनीहरुले आफ्ना लगानीकर्तालाई दसैँअघि नै लाभांश दिने भएका छन्। केहीले घोषणा गरे पनि दसैँअघि लाभांश दिन सक्ने छैनन् भने धेरैजसोको घोषणा हुनै बाँकी छ।
लगानी गरेर आएको नगद लाभांशलाई नै दसैँ खर्च मान्न पाउँदा लगानीकर्ता त्यस्ता कम्पनीप्रति सन्तुष्ट समेत देखिएका छन्। सेयर लगानकर्ता भरतप्रसाद सापकोटा भन्छन् ‘दसैँअघि लाभांश पाउनु धेरै खुसीको कुरा हो, पैसा जोहो गर्नुपर्नेहरुले पनि त्यही लाभांशबाटै दसैँ मनाउन पाउँछन्, यसले गर्दा सेयर नै बेच्नुपर्ने बाध्यता हुँदैन।’
केहीले नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनासम्म पनि साधारणसभा नगर्ने गरेको भन्दै उनले त्यस्ता कम्पनीहरुलाई नियामकले कारबाही गर्नुपर्नेमा जोड दिए। ‘ऐनअनुसार पुस महिनाभित्रै साधारणसभा गर्नुपर्ने हो, तर यहाँ धेरै कम्पनीहरु छन्, जसले समयभित्रै साधारणसभा गर्न नसकेको विगतका समयले देखाउँछ’ उनले गुनासो गरे।
७ कम्पनीहरुले दसैँअघि नै लाभांश दिने भएका छन्। तिमध्ये ३ वटा वाणिज्य बैंकहरु छन्। एनआइसी एसिया, सिटिजन्स र नविल बैंकले दसैँअघि नै लाभांश दिने छन्। त्यस्तै नेपाल इन्स्योरेन्स, ङादी हाइड्रो, फस्र्ट माइक्रोफाइनान्स र नेको इन्स्योरेन्सले पनि दसैँअघि नै लाभांश दिने छन्।
एनआइसी एसियाले २० प्रतिशत र सिटिजन्सले १६ प्रतिशत बोनस तथा सोको कर प्रयोजनका लागि आवश्यक रकम छुट्याएका छन्। नविलले ३० प्रतिशत बोनस तथा १८ प्रतिशत नगद लाभांश दिँदैछ।
नेपाल इन्स्योरेन्सले ५ प्रतिशत, ङादी हाइड्रो र नेको इन्स्योरेन्सले १०– १० प्रतिशत बोनस सेयर दिँदैछन्। फस्र्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ।
एनआइसी एसिया र नेपाल इन्स्योरेन्सको भदौ ३० गते साधारणसभा छ। सिटिजन्सको असोज ९, नविलको असोज १०, फस्र्ट माइक्रोफाइनान्सको असोज ८, ङादीको असोज ४, नेकोको असोज १० गते साधारणसभा छ। केही कम्पनीको भने साधारणसभा भइसकेको छ। अघिल्ला वर्षको लाभांश तथा अन्य प्रस्ताव पारित गर्नका लागि केहीले साधारणसभा सम्पन्न गरेका छन्।
लाभांश घोषणा गरे पनि नेपाल बंगलादेश, नेपाल इन्भेष्टमेन्ट, सानिमा, ग्लोबल आइएमई र सनराइज बैंकले दसैँअघि दिन नसक्ने भएका छन्। नेपाल बंगलादेश बैंकले १२ र सानिमाले १६ प्रतिशत बोनसको घोषणा गरेका छन्। ग्लोबल आइएमई बैंकले १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। इन्भेष्टमेन्टले २५ प्रतिशत नगद तथा १५ प्रतिशत बोनस सेयर दिने भएको छ। सनराइज बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ।
त्यस्तै लाभांश घोषणा नगरे पनि चुक्ता पुँजी बढाउनका लागि पुँजीवृद्धि योजनाअनुसार केहीले दिने बोनस सेयर निश्चित छ। जसका लागि स्टान्डर्ड चार्टड बैंकले शत प्रतिशत र कृषि विकास बैंकले २० प्रतिशत बोनस दिनेछन्।
यस्तो हुन्छ लाभांश दिने प्रक्रियाःकम्पनीहरुले नयाँ आर्थिक वर्ष सुरु भएपछि लाभांश घोषणा गर्न थाल्छन्। गत आवको नाफाबाट नगद वा बोनस वा दुवै लाभांश घोषणा गर्न सक्छन्। बैंकहरुको हकमा घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गर्नुपर्दछ। लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइसकेपछि कम्पनीहरुले ‘बुक क्लोज’को मिति तोक्छन्।
यसको मतलव बुक क्लोज हुनुअघि दोस्रो बजारबाट सेयर किनेकाहरुले लाभांश पाउँछन्, त्यसपछि किन्नेहरुले पाउँदैनन्। बुक क्लोजको दिन बोनसपछिको मूल्य समायोजन गरिन्छ र समायोजित मूल्यमै कारोबार हुन थाल्छ। यदी नगद मात्रै लाभांश घोषणा भएको छ भने बजार मूल्यको १० प्रतिशत भन्दा बढी हुने भएमा मात्रै समायोजन हुन्छ अन्यथा नगद लाभांश समायोजन हुँदैन।
बुक क्लोज वार्षिक साधारण सभाको प्रयोजनका लागि हो। वार्षिक साधारणसभाले लाभांश स्वीकृत गरिसकेपछि बल्ल लगानीकर्ताले बोनस भए डिम्याट खातामा र नगद लाभांश भए बैंक खातामा वा एसी पे चेकमार्फत प्राप्त गर्दछन्।
कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै साधारणसभा गर्नुपर्ने कम्पनी ऐनमा उल्लेख छ।
के हो बोनस वा नगद लाभांश ?बोनस पाउनु भनेको सेयर पाउनु हो। कुनै कम्पनीले १५ प्रतिशत बोनस घोषणा गरेको छ र बुक क्लोजअघिको मितिमा लगानीकर्तासँग १ सय कित्ता सेयर छ भने बोनसपछि उसको सेयर संख्या ११५ पुग्दछ। बोनसको कर कम्पनीहरुले नै व्यवस्थापन गर्न सक्छन् वा आफूले तिर्नुपर्ने पनि हुन सक्छ।
त्यस्तै नगद लाभांश खातामै वा एसी पे चेकमार्फत लगानीकर्ताले पाउँछन्। यदी कम्पनीले २० प्रतिशत नगद लाभांशको घोषणा गरेको भए बुकक्लोजअघि १ सय कित्ता सेयर हुने लगानीकर्ताले प्रतिकित्ता २० रुपैयाँका दरले २ हजार रुपैयाँ पाउँछ।
यो लाभांश रकममा पनि कर लाग्दछ। ‘क्यापिटल गेन ट्याक्स’ ५ प्रतिशत तथा सेवा शुल्क पनि कटौती भई बाँकी रकम मात्रै लगानीकर्ताको हातमा पर्दछ।