नेप्से प्रमुख कार्यकारी अधिकृतविहीन भएको दुई महिना बितिसक्दा पनि नियुक्तीको अझै टुङ्गो लाग्न सकेको छैन। असारको अन्तिम सातादेखि सिताराम थपलियाको कार्यकाल सकिएपछि नेप्से सिइओविहीन छ।
नेप्से सिइओको पद ४ वर्षको हुने गर्दछ। अर्थमन्त्रालयको छनौट समितिले सिइओका लागि योग्यता पुगेकाबाट दरखास्त आह्वान गरी ५ जनालाई ‘सर्ट लिस्ट’मा उतारेको छ। छनोट समितिका एक सदस्यका अनुसार सर्ट लिस्टमा छनौट भएकालाई अन्तवार्ता लिई तीन जनाको नाम अर्थले मन्त्रिपरिषदमा पठाउँछ। मन्त्रिपरिषदबाट तीन जनामध्ये एक जना छनौट हुन्छ।
उनले भने ‘छनौट समितिले सर्ट लिस्ट तयार गरिसकेको छ, अब अन्तवार्तापछि यिनैमध्येबाट तीन जना छनौट हुन्छन् र अर्थले ति तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइसकेपछि मन्त्रिपरिषदले नियूक्त गर्ने हो।’
सम्भवतः दसैँअघि नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनौट नहुने उनले बताए। यसरी ‘सर्ट लिस्ट’मा परेका पाँच जना व्यक्तिहरुमा यसअघिका सिईओ थपलियासहित बैंकर्स मनोज ज्ञवाली, चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र प्रविन पन्दाक रहेका छन्। यीमध्ये थपलिया र ज्ञवालीको चर्चा बढी छ।
लगानीकर्ताको चाहनाः बजारको विकास गर्ने व्यक्ति चाहिन्छसेयर लगानीकर्ता बजारको विकास गर्न सक्ने नेतृत्वलाई ल्याउनुपर्नेमा जोड दिन्छन्। नेप्सेको नेतृत्व छनौट पनि राजनीतिक पावरमै हुने भएका कारण भोलि काम गर्न नसक्ने व्यक्तिले नेतृत्व लिने हुन् कि भन्ने चिन्ता लगानीकर्तामा देखिन्छ।
पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले बजारलाई विकास गर्न सक्ने क्षमता भएको व्यक्तिको खाँचो रहेको उल्लेख गरे। ‘अब अनलाइन प्रणालीको विकासलाई अगाडि बढाउनुपर्नेछ, नयाँ नेतृत्वले सो प्रणालीलाई कार्यान्वयनमा ल्याउन सकोस्’ उनले भने ‘पुँजी बजारलाई व्यवस्थित गर्न मार्जिन लेण्डिङ, मार्केट डिलर लगायतका धेरै काम गर्नु जरुरी छ, यी काम गर्न सक्ने व्यक्तिलाई नयाँ नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने हाम्रो चाहना हो’ उनले भने।
त्यस्तै अर्का लगानीकर्ता अशोक खरेल राजनीतिक पावरका भरमा असक्षम व्यक्ति पनि नेतृत्वमा आउन सक्ने बताउँदै पुँजी बजारको संवेदनशीलतालाई पनि ख्याल गरेर मात्रै नियुक्ती गर्नुपर्नेमा जोड दिन्छन्।
सर्ट लिस्टमा छनौट भएकामध्येबाट पनि थपलिया र ज्ञवाली नै अहिलेका लागि उपयुक्त नेतृत्व हुन सक्ने उनी बताउँछन्। ‘थपलियालाई धेरै कुराको अनुभव पनि छ, उनले अगाडि बढाएको अनलाइन प्रणाली अर्को आउँदा फेरि नहुन सक्छ’ उनले भने ‘बैंकिङ क्षेत्रमा अनुभव संगालेका ज्ञवालीले पनि कुशलतापूर्वक नेतृत्व सम्हाल्न सक्ने देख्छु, तिबाहेक अरुको संभावना त्यति धेरै देखिँदैन।’
सर्टलिस्टमा परेका केही व्यक्तित्वहरुले यसअघिका आफ्ना जिम्मेवार समेत सही रुपमा सम्हाल्न नसकेको उदाहरण रहेको उनले दावी गरे।