तपाईले किनमेल गर्दा वा कुनै सेवाबापत रकम भुक्तानी गर्न भिसा कार्डको प्रयोग गर्ने गर्नुभएको छ ? यदी भिसा कार्डबाटै रकम भुक्तानी गर्ने गर्नुभएको छ भने अब तपाईले खातामा खर्च गरेको केही पैसा फिर्ता पाउनुहुने भएको छ।
तपाईले किनमेल वा अन्य सेवामा कार्डमार्फत जति रकम भुक्तानी गर्नुहुन्छ, त्यसको ठीक १० प्रतिशत रकम खातामै फिर्ता आउने भएको छ। त्यसो भन्दैमा सबै बैंकका भिसा कार्डमा भने यो नियम लागू हुँदैन।
नेपाल इन्भेष्टमेन्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका अन्य ९ बैंकहरुले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनीसँग सहकार्य गरी संयूक्त रुपमा यस्तो नगद फिर्ता योजना लागू गरेका हुन्। नेपाल इन्भेष्टमेन्ट बैंकका अलवा सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, कुमारी, महालक्ष्मी विकास, मेगा, एनसीसी, राष्ट्रिय वाणिज्य, सानिमा र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताले यो लाभ उठाउन सक्ने छन्।
भोलि घटस्थापनादेखि पाँच महिना अवधिसम्म यो योजना लागू हुने भएको मेगा बैंक कार्ड डिपार्ट प्रमुख राकेश श्रेष्ठले जानकारी दिए।
‘हामीले सुरुका लागि पाँच महिनाको अवधि राखेका छौँ, पछि ग्राहकको प्रतिक्रिया र व्यवहारिक पक्षलाई हेरेर यो अवधि थप गर्न पनि सक्छौँ’ उनले भने। नगदरहित कारोबारका लागि प्रोत्साहन गर्ने नीतिअनुरुप यस्तो योजना लागू गरिएको यी १० बैंकहरुले जनाएका छन्। जुनसुकै बैंक वा नेटवर्कका ‘पोस मेसिन’मा यी १० बैंकका कार्ड स्वाप गरी रकम भुक्तानी गर्दा यो लाभ पाइने बताइएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक कार्ड सेन्टर प्रमुख रिमा चन्दका अनुसार यो अभियानले भिसा कार्डलाई किनमेल तथा सेवा भुक्तानीका लागि प्रयोग गर्न प्रोत्साहन हुने छ। ‘यो अभियानले भिसा कार्डलाई एटिएम प्रयोगका लागि मात्रै नभई भुक्तानीका लागि पनि प्रोत्साहन हुनेछ, धेरैले भिसा कार्डलाई अझै पनि भुक्तानीका लागि प्रयोग गर्न सकेका छैनन्’ उनले भनिन्।
स्वदेशभित्र नेपाली नागरिकले प्रयोग गर्दा मात्रै यो लाभ योजना लागू हुने छ। अर्थात विदेशमा नेपालीले वा विदेशी नागरिकले यहाँ प्रयोग गर्दा यो लाभ पाउने छैनन्। यसका लागि न्यूनतम ५ सय रुपैयाँसम्मको सामान वा सेवा खरिद गरी भुक्तानी गरेको हुनुपर्नेछ।
त्यस्तै अधिकतम सिमा दैनिक १ हजार रुपैयाँसम्म मात्रै ग्राहकले फिर्ता पाउने छन्। अर्थात दैनिक १० हजार रुपैयाँ वा सोभन्दा बढी रकमको सामान तथा सेवा खरिद गरे पनि १ हजार रुपैयाँ मात्रै नगद फिर्ता हुनेछ।
यदी दैनिकजसो रकम यसैगरी भुक्तानी गरे पनि १० प्रतिशतकै दरले रकम फिर्ता हुने संजालमा आवद्ध बैंकहरुले जनाएका छन्। फिर्ता भएको नगद भोलिपल्टै ग्राहकको खातामै जम्मा हुने श्रेष्ठले जानकारी दिए। ‘भोलिपल्टै रकम ग्राहकको खातामा फिर्ता आउँछ, यदी आएन भने उहाँहरुले सम्वन्धित बैंकबाट यसको समाधान पाउनुहुनेछ’ उनले भने।
हाल काठमाडौं उपत्यकामा यी दस बैंकहरुबाट १५ लाख संख्याको हाराहारीमा भिसा डेविट कार्ड जारी भएको बैंकहरुले जनाएका छन्। यीमध्ये जम्मा २० प्रतिशतले मात्रै आफ्नो कार्डलाई ‘पोस’ मेसिनमा स्वाप गरी भुक्तानी गर्ने गरेको सम्वद्ध बैंकहरुको भनाइ छ। हाल उपत्यकाका विभिन्न बस्तु तथा सेवा प्रदायक संस्थाहरुसँग १६ सय पोस मेसिनहरु संचालनमा रहेको बताइएको छ।