दसैँ सुरु भएसँगै सेयर बजारमा कारोबार सुस्ताएको छ। दैनिक ५० करोड बढीको सेयर खरिदबिक्री हुने गरेकोमा आइतबार जम्मा ३१ करोड ५२ लाखको सेयर किनबेच भएको छ।
यस दिन १५० कम्पनीको कारोबार भयो। आज सेयर बिक्री गर्नेले दसैँपछि मात्रै रकम पाउने भएपछि बिक्रीमा पनि धेरै चाप पर्न पाएन। त्यस्तै खरिद गर्नेहरु पनि ‘पर्ख र दसैँपछि हेर’ भन्ने मानसिकतामा पुगेपछि दुवैतर्फको चापमा कमी आएको हो। यसले गर्दा समग्र कारोबार प्रभावित भएको हो।
परिसूचक नेप्से २. ८९ अंकले घटेर १५३६ अंकमा कायम भएको छ। यस दिन होटल ३७, जलविद्युत १, फाइनान्स ४ र बिमा १० अंकले बढे भने अरु समूह घटेका छन्। बैंकिङ ४, व्यापार १५ र विकास बैंक समूह ५ अंकले घटे।
यस दिन एनसीसी बैंक संस्थापकतर्फको सबैभन्दा धेरै २ करोड २२ लाखको सेयर किनबेच भयो। इन्भेष्टमेन्ट बैंकको २ करोड ११ लाखको कारोबार भयो भने नेपाल लाइफको १ करोड २९ लाखको कारोबार भयो।
बरुण हाइड्रोका लगानीकर्ताले यस दिन सबैभन्दा धेरै ९ प्रतिशत नाफा कमाए। त्यस्तै तारागाउँ रिजेन्सीका लगानीकर्ताले ७ प्रतिशत नाफा कमाए। कुबेर मर्चेन्ट तथा विशाल बजारका लगानीकर्ताले ६ प्रतिशत बढी मूल्य गुमाए।