एनआइसी एसिया बैंकले आकर्षक ‘होम लोन’को अफर ल्याएको छ।
बैंकले यो कर्जाको अवधि २५ वर्षसम्म हुने व्यवस्था गरेको छ। ऋण लिइसकेपछि २५ वर्षसम्म व्याज र ऋण रकम संयूक्त रुपमा भुक्तानी गर्दै लैजान सकिने भएकाले ऋणीलाई मासिक भुक्तानी कम भई भार असहजता नहुने बैंकको विश्वास छ।
बैंक रिटेल लोन प्रमुख लक्ष्मण चालिसेका अनुसार बैंकबाट घर कर्जा लिन कुनै पनि शुल्क लाग्दैन। ‘हामीले घर कर्जामा कुनै शुल्क लिदैनौँ, यसबाट ऋणीलाई कुनै पनि शुल्क तिर्नुपर्ने झन्झट हुँदैन’ उनले थपे। साथै ऋणको अग्रिम भुक्तानी गर्नु नपर्ने, धितो मूल्याङ्कन, बिमा तथा कर्जा सूचनावापत कुनै शुल्क तिर्नुनपर्ने बैंकले जनाएको छ।
प्रत्येक शाखा कार्यालयहरुलाई नै होम लोन प्रदानका लागि अख्तियारी दिइएकाले प्रोसेसिङका लागि धेरै समयावधि पनि नलाग्ने उनले स्पष्ट पारे। ‘नजिकैको शाखाबाटै ऋणीले आवश्यक सबै प्रक्रिया चाँडो पुरा गर्न सक्ने छन्, शाखाहरुलाई सम्पूर्ण अधिकारहरु दिइएको छ’ चालिसेले भने।
घर कर्जामा मासिक व्याजदर ० दशमलव ९ प्रतिशत तोकिएको छ। यो योजनाबाट ग्राहकलाई धेरै हदसम्म व्याजदर परिवर्तनको असर समेत न्यून गर्ने प्रयास बैंकले गरेको छ। महिनैपिच्छे परिवर्तन हुने व्याजदरका कारण लगानीकर्तालाई असर नपरोस् भन्नका लागि बैंकले ऋण लिएको २ वर्षसम्म व्याजदरमा कुनै परिवर्तन नगर्ने नीति यो योजनामा राखेको छ।
कर्जाका लागि सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएको तीन कार्यदिनभित्रै स्वीकृत हुने र मासिक रुपमा किस्ता वा व्याज मात्रै भुक्तानी गर्ने सुविधा समेत यसमा रहेको बैंकले जनाएको छ।
सबैभन्दा पहिले ग्राहकले सम्वन्धित शाखा कार्यालयमा गई आवश्यक सबै कागजात बुझाउनुपर्ने र कागजात पुरा भइसकेपछि टोलीले धितोको मूल्याङ्कन गर्ने चालिसेले बताए। ‘कागजात पुरा भएपछि धितो मूल्याङ्कन गरिन्छ अनि स्वीकृत भएको तीन दिनभित्रै ऋण रकम ग्राहकले पाउँछन्’ उनले भने।
ग्राहकको धितोको मूल्य तथा आम्दानीको स्रोतका आधारमा भनेजति नै ऋण पाउने उनले बताए।
के के चाहिन्छ त आवश्यक कागजात ?ऋण लिनका लागि सबैभन्दा पहिले धितोको प्रमाणित कागजात आवश्यक पर्दछ। यदी जग्गा धितो राख्ने हो भने लालपूर्जा तथा घर राख्ने भएमा नक्सा पास तथा निर्माण सम्पन्न भएको कागजात चाहिने चालिसेले बताए।
त्यस्तै धितो सम्पत्तिको कर तिरेको रसिद र नागरिकताको प्रमाणपत्र लिई व्यक्ति स्वयम् उपस्थिति हुनुपर्दछ। त्यसका अलवा आम्दानी पुष्टी हुने कागजातहरु चाहिन्छ।
जागिरेका लागि कम्पनी तथा संस्थाले प्रमाणित गरेको तलव तथा सुविधाको सिफारिस पत्र, घरभाडा उठाउनेका लागि घरभाडा सम्झौता, व्यवसाय गरेकाले दर्ता प्रमाणपत्र तथा आम्दानीको स्पष्ट विवरण बुझाउनुपर्दछ। साथै जमानी बस्ने व्यक्ति र उससँग नाता प्रमाणित भएको कागजात जरुरी पर्दछ।