नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा चन्द्रसिंह साउद नियुक्त भएका छन्। मन्त्रिपरिषदको आजको बैठकले अर्थबाट प्रस्तावित तीन जनामध्ये साउदलाई नियूक्त गरेको हो।
साउदको नियूक्तिसँगै नेप्सेले तीन महिनापछि प्रमुख कार्यकारी अधिकृत पाएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। यसअघिका सिइओ सिताराम थपलियाको असार तेस्रो साता कार्यकाल सकिएपछि नेप्से सिइओबिहीन रहँदै आएको थियो।
अर्थ मन्त्रालयको छनौट समितिले नेप्सेको सिइओका लागि तीन जना ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली, नेपाल इन्स्योरेन्सका पूर्व सिइओ साउद र प्रोफेसर प्रमोदराज शर्माको नाम प्रस्ताव गरेको थियो। तिनै प्रस्तावित नामबाट मन्त्रिपरिषदले साउदलाई नियूक्त गरेको हो।
सुदुरपश्चिमकै साउदले नेप्सेको सिइओका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग लविङ समेत गर्दै आएका थिए। सुदुरपश्चिमकै भएकाले उनलाई देउवाको जोडबलमै नियूक्त गरिएको आरोप समेत लागेको छ।
साउदसँग यसअघि इन्स्योरेन्स कम्पनीमा लामो समयसम्म काम गरेको अनुभव छ। एमबिएससम्मको अध्ययन गरेका उनी हाल अध्यापन पेशामा संलग्न हुँदै आएका छन्।
‘अनलाइन ट्रेडिङ’ सिस्टमको विकास प्रमुख कामसेयर बजारको विकासले गति लिँदै गर्दा सिइओको पद सम्हाल्न गइरहेका साउदसँग कम चुनौति छैन। यसअघिका सिइओ थपलियाले आफ्नो कार्यअवधिसम्म गर्न नभ्याएको अनलाइन ट्रेडिङ सिस्टमलाई लागू गर्नु उनको लागि प्रमुख चुनौतिको काम बनेको छ।
पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदी अबको नेतृत्वले अनलाइन प्रणालीबाटै कारोबार गर्न सक्ने सिस्टमको विकास गर्नैपर्ने बताउँछन्। ‘यसअघिका थपलियाले कार्यकालमा गर्न नभ्याएका काममध्येको प्रमुख अनलाइन ट्रेडिङ सिस्टम हो, यसलाई जसरी पनि अबको नेतृत्वले पुरा गर्नुपर्छ’ सेतोपाटीसित उनले भने।
निवर्तमान सिइओ थपलियाले आफ्नो कार्यकाल सकिँदै गर्दा कात्तिक २१ गते अनलाइन ट्रेडिङ सिस्टमको प्रयोग भई लागू हुने घोषणा गरेका थिए। जाँदाजाँदै नेप्सेमै पत्रकार सम्मेलन गरी उनले भनेका थिए ‘कात्तिक भित्र अनलाइन ट्रेडिङ सिस्टम लागू गर्न सकिन्छ, अब आउने नेतृत्वले इमान्दारीपूर्वक काम गरे बजारले राम्रो फड्को मार्नेछ।’
उनले अब आउने नेतृत्वले आफ्नो लाभका लागि विकास हुँदै गरेको सिस्टमलाई पुरै खारेज गर्न सक्ने अर्को चिन्ता समेत जनाएका थिए।
बजारको विकास गर्न अझै धेरै काम बाँकी रहेको भन्दै थपलियाले दोस्रो पटक पनि सिइओका लागि आवेदन दिएका थिए। सर्ट लिस्टमा उनको नाम परे पनि अर्थले अन्तिम समयमा भने उनको नाम मन्त्रिपरिषदमा प्रस्ताव गरेन।
एक अनौपचारिक छलफल कार्यक्रममार्फत उनले आफू पुनः सिइओ नियूक्त भएमा कात्तिक महिनाभित्रै अनलाइन ट्रेडिङ सिस्टम लागू हुने प्रतिबद्धता जनाएका थिए।
त्यस्तै धितोपत्र बोर्डसँग नेप्सेको यसअघि भएका तिक्तता हटाउने अर्को चुनौति साउदसँग छ। यसअघि बोर्ड र नेप्सेबीच आपसी समन्वयात्मक हुन नसक्दा बारम्बार आरोप प्रत्यारोप समेत हुँदै आएको छ।
त्यसबाहेक धितोपत्र बोर्डले लिएका लक्ष्यहरु गैह्र आवासी नेपालीलाई प्रत्येक्ष लगानीका लागि वातावरण बनाउने, बजारको विकासका लागि मार्केट डिलर संचालन गर्नेजस्ता चुनौति पनि साउदसँग आएको छ।
नेपाल इन्स्योरेन्समै हुँदा पनि उनको पर्याप्त आलोचना भएका थिए। पुँजी बजारसम्वन्धी अनुभवको अभाव भएकाले कतिपय लगानीकर्ता उनीप्रति विश्वस्त हुन सकेका छैनन्। जसले गर्दा यसबीचमा अनेकन व्यक्तिको नामलाई अघि सार्दै कतिपयलाई नेप्सेको सिइओ नियुक्तिमा ‘मिडियाबाजी’ गर्ने मौका समेत मिल्यो।
यदी उनले अनलाइन ट्रेडिङ सिस्टमलाई लागू गर्दै लैजान सकेमा केही वर्षयता प्राविधिक विकासमा एकपछि अर्को फड्को मार्दै गएको पुँजी बजारमा उनको योगदान पनि सह्राहनीय रहनेछ।
अनलाइन ट्रेडिङ सिस्टम लागू भएपछि हरेक लगानीकर्ताले देशका कुनाकाप्चाबाट इन्टरनेटको माध्यमबाटै सेयर खरिद तथा बिक्री गर्न सक्नेछन्। जसले गर्दा ब्रोकर कम्पनीमै धाउनुपर्ने झन्झट अन्त्य हुनेछ। यो सिस्टमको विकास गर्ने जिम्मा वाइको कम्पनीले पाएको छ।
वाइको कम्पनीले विकास गरिरहेको यस सिस्टमअनुसार लगानीकर्ताले सम्वन्धित ब्रोकर कार्यालयबाट एउटा कोड र पासवर्ड पाउँदछन्। यसैको प्रयोग गरी लगानीकर्ताले आफूले खरिद वा बिक्री गर्न चाहेको कम्पनी, सेयर संख्या र चाहेको मूल्य पोष्ट गरी कारोबार गर्न सक्नेछन्। सो कम्पनीले सिस्टमको विकासको काम गरिरहेको नेप्सेका एक अधिकारीले जानकारी दिए।