नेप्सेले प्रमुख कार्यकारी अधिकृत पाएको पहिलो दिन परिसूचक भने ८ अंकले घटेको छ। मन्त्रिपरिषद बैठकले चन्द्रसिंह साउदलाई नियूक्त गरेका दिन ८. १ अंकले घटेर नेप्से १५०१ अंकमा अडेको छ।
यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४९ करोडको कारोबार भएकोमा आज कुल १५२ कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन अन्यबाहेक सबै समूहहरु ओर्लिएका छन्। सो समूह भने ४ अंकले बढ्यो। बैंकिङ ९, व्यापार ३, होटल १, विकास बैंक १२, जलविद्युत ६, फाइनान्स ८ र बिमा समूह ४७ अंकले घटेका छन्।
कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २ करोडको सेयर किनबेच भयो भने मूल्य प्रतिकित्ता ३४४ कायम भएको छ। चिलिमेको १ करोड ४५ लाख, स्टान्डर्ड चार्टड बैंकको १ करोड ३९ लाख तथा नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २० लाखको सेयर खरिदबिक्री भएको छ।
अन्य कम्पनीहरुको कारोबार भने १ करोडमुनि रह्यो। किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ३.९ प्रतिशत नाफा कमाए। पोखरा फाइनान्स, बुटवल पावरका लगानीकर्ता पनि नाफामा रहे।
ग्रामीण विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ५.७ प्रतिशत मूल्य गुमाएका छन्। यस दिन पूर्णिमा विकास बैंक र एनबि इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ।