म्युचुअल फण्डमा लगानी गर्न चाहनेका लागि सिद्धार्थको इक्वीटी फण्ड योजनाको बिक्री खुला भएको छ। आज बुधबारदेखि आगामी आइतबारसम्म यस योजना खरिदका लागि आवेदन गर्न सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ।
कुल १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। कुल निश्कासन गरिएको १२ करोड इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकलाई छुट्याइएको छ।
प्रतिइकाइ १० रुपैयाँका दरले लगानी गर्न सकिने यस योजना १ अर्ब २० करोड रुपैयाँको हो। यद्यपी माग गरिएभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म आकार बढाउन सकिने व्यवस्था छ। जसले गर्दा कम्पनीको यो योजना १ अर्ब ५० करोड पुग्ने सहजै अनुमान गर्न सकिन्छ।
पछिल्ला दिनमा म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढेकाले यस योजनाको आकार पनि २५ प्रतिशत बढ्ने सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिम्सिना बताउँछन्।
कम्पनीले संकलन भएको रकमध्ये अधिकांश हिस्सा इक्वीटी अर्थात कम्पनीहरुको सेयरमा लगानी गर्नेछ। तिम्सिना भन्छन् ‘हाम्रो योजनाको नामले नै यसलाई स्पष्ट पारेको छ, ९० प्रतिशत बढी रकम इक्वीटीमै लगानी हुन्छ।’
एक जनाले कम्तीमा १ सय कित्ताका लागि अर्थात १ हजार रुपैयाँको र बढीमा २४ लाख इकाईसम्म अर्थात २ करोड ४० रुपैयाँको आवेदन दिन सक्नेछ।
यसअघिका म्युचुअल फण्डको आकर्षक प्रतिफलसिद्धार्थका यसअघि २ वटा म्युचुअल फण्ड जारी भइसकेका छन्। सिद्धार्थ ग्रोथ स्किम १ र सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम यसका दुई योजना हुन्।
सिद्धार्थ इक्वीटी ओरियन्टेडको नेट एसेट भ्यालु शुक्रबारसम्म १२ रुपैयाँ ९२ पैसा छ। सिद्धार्थ ग्रोथ स्किमको नेट एसेट भ्यालु शुक्रबारसम्म २१ रुपैयाँ २३ पैसा छ। सो योजनाले आर्थिक वर्ष २०७३/७४ को कमाइबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने छ भने ग्रोथ स्किमले २५ प्रतिशत नगद लाभांश दिनेछ। दुवै योजनाको मूल्य समायोजन भइसकेको छ।
ग्रोथ स्किम २०६९ साल माघदेखि संचालनमा आएको हो भने इक्वीटी ओरिएन्टेड २०७१ साल साउनदेखि बजारमा सूचीकृत भई संचालनमा आएको हो।
यस बीचमा ग्रोथ स्किमले झण्डै १२५ प्रतिशत प्रतिफल लगानीकर्तालाई दिइसकेको छ भने अहिले पनि बजारमा अंकितभन्दा दोब्बर मूल्य छ।
अर्थात ५ वर्षअघि ग्रोथ स्किममा १० रुपैयाँ लगानी गरेकाले साँवाभन्दा बढी रकम अर्थात १२ रुपैयाँ ५० पैसा पाइसके। अहिले बजारमा बेच्दा पनि २१ रुपैयाँ भन्दा बढी पर्दछ। ५ वर्षमा ३ गुणा बढी प्रतिफल लगानीकर्ताले यो स्किमबाट लिन सफल भएका छन्।
त्यस्तै अर्को इक्वीटी ओरिएन्टेडले हालसम्म ४० प्रतिशत रिटर्न लगानीकर्तालाई दिइसकेको छ। अंकित मूल्य १० मा किनेकाले त्यो रिटर्नबाहेक अहिले योजना बेच्न चाहेमा प्रतिइकाई १३ रुपैयाँको हाराहारीमा मूल्य पाउन सक्छन्।
यसअघिका सिद्धार्थका योजनाले आकर्षक प्रतिफल दिइरहेकाले लगानीकर्ता यसका योजनाप्रति विश्वस्त देखिएको प्रमुख कार्यकारी अधिकृत तिम्सिनाको भनाइ छ। सुरुको आफ्नै योजना पुरा बिक्री गर्न पनि धेरै चुनौति खेप्नुपरेको स्मरण गर्दै उनले अहिले भने मागभन्दा धेरै गुणा आवेदन पर्ने गरेको बताए। ‘यसले सर्वसाधारणको आकर्षण बढेको हो, त्यसमाथि म्युचुअल फण्डबाट राम्रो प्रतिफल पाउने कुरा पनि प्रमाणित भइसकेको छ’ उनले भने।
म्युचुअल फण्डमा लगानी गर्नका लागि धेरै विज्ञताको जरुरत पर्दैन। सेयरमाजस्तो लगानीका लागि धेरै सूचनाहरु यसमा लिइरहनु नपर्ने र थोरै रकम पनि धेरै कम्पनीमा बाँडिएर लगानी हुने भएकाले साना लगानीकर्तालाई पनि म्युचुअल फण्ड उपयुक्त मानिन्छ।