सेयर बजारको परिसूचक आज ४ अंकले बढेको छ। अघिल्लो दिन १५०६ अंकमा रहेको नेप्से आज १५१० अंकमा कायम भएको छ। दिनभर १५४ कम्पनीको कुल ४० करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो।
आजको कारोबारपछि बजारको पुँजीकरण १७ खर्ब ५२ अर्ब कायम भएको छ। बैंकिङ, व्यापार र अन्य समूह यस दिन बढेका छन् बैंकिङ २, व्यापार ०. २ र अन्य समूह ३० अंकले बढे। बिमा २१, फाइनान्स ३, जलविद्युत ७, विकास बैंक ५ र होटल समूह ४ अंकले घटे।
४० करोडको कारोबार भएको बजारमा चिलिमे हाइड्रोपावरको मात्रै ७ करोड २० लाखको सेयर किनबेच भयो। गत आवको कम्पनीको नाफाबाट लाभांश लिनका लागि आज सेयर किन्नुपर्ने अन्तिम दिन भएकाले उसको कारोबार उच्च भएको हो।
कम्पनीले १० प्रतिशत नगद तथा १५ प्रतिशत सेयर लाभांश दिँदैछ। कात्तिक २४ गते कम्पनीको साधारणसभा छ। सो सभाबाट पारित भइसकेपछि मात्रै लगानीकर्ताले लाभांश पाउने छन्।
कम्पनीको कारोबार उच्च भए पनि मूल्य भने घटेको छ। कम्पनीको मूल्य प्रतिकित्ता १० रुपैयाँले घटेर ८३८ कायम भएको छ। लाभांशको अवसरमा केही दिनअघिसम्म बढेको मूल्य लिएर सेयर बेच्न खोज्नेहरु बढ्दा आज उसको मूल्य घटेको हो।
आजको कारोबारको बीचमा कम्पनीको मूल्य प्रतिकित्ता ८६५ सम्म पुगेको थियो। मध्य अवधिमा लाभांशको प्रलोभनमा उचालिएर सेयर किन्नेहरु आएपछि बेच्नेहरुको चाप बढ्न पुग्यो। जसले गर्दा अन्ततः मूल्य अघिल्लो दिनभन्दा प्रतिकित्ता १० रुपैयाँले घट्यो।
त्यस्तै कारोबारमा आधारमा नेपाल टेलिकम दोस्रो स्थानमा रह्यो। उसको ३ करोड ३५ लाखको कारोबार भयो। कम्पनीको मूल्य भने बढेर प्रतिकित्ता ७८० कायम भएको छ। नाफा कमाउने आधारमा टेलिकमका लगानीकर्ता दोस्रो अग्रस्थानमा रहे। कम्पनीको मूल्य आजै प्रतिकित्ता ३४ रुपैयाँले बढेको हो।
नाफाका आधारमा रिलायन्स फाइनान्सका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीको मूल्य साढे ५ प्रतिशतले बढेको हो। सिर्जना फाइनान्सका लगानीकर्ताले ४.८ प्रतिशत मूल्य घटेको छ।