साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचकहरु उक्लिएका छन्। नेप्से परिसूचक ८ अंकले बढेको छ भने सेन्सिटिभ इन्डेक्स १. ५ अंकले बढेको छ। आजको कारोबारपछि नेप्से १५१८ अंकमा कायम भएको छ।
यस दिन कुल ५१ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भयो। यसअघिका दिनमा दैनिक सरदर ३० करोडको कारोबार हुँदै आएको थियो। गत बिहीबार ३२ करोड २३ लाखको कारोबार भएको थियो।
साताको पहिलो दिन कारोबारमा मात्रै नभई सबै समूहहरु उक्लिएपछि लगानीकर्तामाअब बजारले उकालो गति लिने आशावादीमा छन्। यस दिन बैंकिङ ८, ब्यापार ३, होटल ३०, विकास बैंक १२, जलविद्युत ६, फाइनान्स १, बिमा २६ र अन्य समूह १ अंकले बढे।
डिप्रोक्स डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै रकम १५ करोड ९६ लाख रुपैयाँको कारोबार भयो। कम्पनीको मूल्य प्रतिकित्ता ११९५ कायम भएको छ। त्यस्तै नागरिक लगानी कोषको १० करोड ६६ लाखको कारोबार भयो। उसको मूल्य प्रतिकित्ता ३७ सय कायम भएको छ।
बढेको बजारमा पनि प्रोग्रेसिभ र बेस्ट फाइनान्सका लगानीकर्ताले अधिकतम फाइदा लिए। ति लगानीकर्ताले आफ्नो सेयरमा अघिल्लो दिनमा भन्दा १० प्रतिशत मूल्य कमाएका छन्। वमी माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशत नाफा कमाए।
गुह्वेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशत नोक्सान ब्यहोरे। यसैबीच माइक्रोफाइनान्स कम्पनीले लाभांश घोषणा गरेका छन् भने केहीको स्वीकृत भएको छ।
नागबेली लघुवित्तले ४५. ६ प्रतिशत बोनस सेयर दिने भएको छ। विजय लघुवित्तले १० प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। सूर्योदय लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने भएको छ।
साना किसान माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस दिने भएको छ। स्वदेशी लघुवित्तले १० प्रतिशत बोनस दिई त्यसपश्चात १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ।
वमी माइक्रोफाइनान्सले यसअघि घोषणा गरेको २० प्रतिशत बोनस सेयर स्वीकृत भएको छ। छिमेक लघुवित्तको पनि २५. १ प्रतिशत नगद तथा १९.८ प्रतिशत बोनस सेयरको प्रस्ताव स्वीकृत भएको छ।