थपिएका नयाँ बिमा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्सले सबैभन्दा पहिले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने प्रक्रिया थाल्ने भएको छ।
सो कम्पनीको कात्तिक २३ गते भैरहवामा बस्ने साधारणसभाले आइपिओ निश्कासनको प्रस्ताव स्वीकृत गरेपछि प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले सर्वसाधारण समूहतर्फ ६४ लाख ५० हजार कित्ता सेयर जारी गर्ने जानकारी दिए। सेतोपाटीसित कुराकानी गर्दै उनले भने ‘२ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजीमा ३० प्रतिशत स्वामित्व सर्वसाधारणलाई दिनुपर्ने प्रावधान छ, सो अनुसार नै यो संख्यामा सेयर जारी गर्न लागेका हौँ।’
यो संख्यामा पनि ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्ड तथा कर्मचारीका लागि छुट्याउनुपर्दछ। बाँकी ६१ लाख २७ हजार ५०० कित्ता सेयर सर्वसाधारणले पाउँछन्। साधारणसभाबाट आइपिओको प्रस्ताव स्वीकृत भइसकेपछि धितोपत्र बोर्ड तथा कम्पनी रजिष्टार कार्यालयबाट स्वीकृत लिनुपर्ने हुन्छ। साधारणसभालगत्तै यी निकायमा प्रक्रिया सुरु गरिने कर्णले बताए।
बिमा समितिको पछिल्लो निर्देशिकाअनुसार आगामी असार मसान्तभित्रै नयाँ कम्पनीहरुले आइपिओ जारी गरी चुक्ता पुँजी २ अर्ब नघाउनुपर्नेछ। १० नयाँ कम्पनीमध्ये युनियन लाइफबाहेक संचालनमा आएका तीन कम्पनीहरु सनलाइफ, आइएमई लाइफ र रिलायबल लाइफ इन्स्योरेन्सले साधारणसभाको मिति तोकिसकेका छैनन्।
५ कम्पनी लाइसेन्स लिएर संचालनका लागि तयारी अवस्थामा छन्। अनुमति लिनका लागि समितिले दिएको समयावधि सकिँदासम्म स्वीकृत पाएकामध्ये एउटा कम्पनीले भने संचालनको लाइसेन्स नै लिएको छैन।
संस्थापकतर्फको ७० प्रतिशतसम्मको पुँजी नजुटाएपछि उसले संचालनको लाइसेन्स नपाएको बिमा समितिले जनाएको छ। यी नयाँ जीवन बिमा कम्पनीले संचालनको लाइसेन्स लिएको मितिले १ वर्षभित्र सर्वसाधारणलाई आइपिओ दिइसक्नुपर्ने प्रावधान रहेको बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले जानकारी दिए।
‘हामीले संचालनका लागि लाइसेन्स दिएको एक वर्षभित्र सर्वसाधारणलाई आइपिओ जारी गर्नुपर्दछ’ उनले भने। भदौको पहिलो सातासम्म ९ कम्पनीहरुले संचालनको लाइसेन्स लिइसकेका छन्। यस हिसावले आगामी भदौसम्म यी कम्पनीहरुले सर्वसाधारणलाई सेयर जारी गरिसक्नुपर्दछ।
चुक्ता पुँजी २ अर्बको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने प्रावधानअनुसार यी ९ कम्पनीले जारी गर्नुपर्ने सेयर संख्या ५ करोड ४० लाख कित्ता हुन आउँछ।
यो सेयरको कुल अंकित मूल्य ५ अर्ब ४० करोड हुन्छ। । नयाँ उत्पादनमूलक कम्पनीले प्रिमियम रकम थपेर आइपिओ जारी गर्न सक्ने प्रावधान भए पनि बिमा कम्पनीहरुले भने अंकित मूल्यमै आइपिओ जारी गर्नुपर्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए।
संस्थापकतर्फबाट जुटेको पुँजी १ अर्ब ४० करोड रुपैयाँ सुनिश्चित गरिसकेका यी प्रत्येक कम्पनीको १ अर्ब २० करोड रुपैयाँ बिमा समितिमा नै सुरक्षित रहन्छ। ‘बाँकी २० करोड रुपैयाँबाट कार्यालय तथा स्रोत साधनको व्यवस्थापन कम्पनीहरुले गर्नुपर्दछ’ चापागाईंले भने।