नेपाल राष्ट्र बैंकले २ अर्बको नागरिक बचतपत्र निश्कासन गर्ने भएको छ। राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा जारी गरिने सो बचतपत्रमा लगानी गर्नेले वार्षिक साढे ८ प्रतिशत व्याजदर पाउने छन्।
सार्वजनिक सूचना जारी गरी राष्ट्र बैंकले ५ वर्षे बचतपत्र जारी गर्न लागिएको जनाएको हो। ‘नागरिक बचतपत्र २०७९ क’ जोकोही नेपाली नागरिकले खरिद गर्न सक्नेछन्।
कम्तीमा १० हजार रुपैयाँ यसमा लगानी गर्न सकिन्छ। त्यसभन्दा माथिको रकम लगानी गर्ने भएमा १० हजारले भाग जाने हुनुपर्दछ। यसरी लगानी गरेपछि राष्ट्र बैंकले ६–६ महिनामा व्याजदर प्रदान गर्दछ। यसअघि जारी गरेको बचतपत्रमा ९ प्रतिशत व्याजदर दिए पनि यस पटक भने बैंकले व्याजदर ०.५ प्रतिशतले कम गरेको छ।
हाल बैंकिङ प्रणालीमा ७० अर्बभन्दा बढी तरलता रहेको बैंकले जनाएको छ। यो बचतपत्रले बजारमा भएको तरलता व्यवस्थापनमा सघाउने बैंकको विश्वास छ।
यस्तो बचतपत्र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी आफूलाई चाहिएका बेला ऋण लिन पनि पाइन्छ। सरकारी ऋणपत्र अन्यको तुलनामा जोखिममुक्त हुने भएकाले यसलाई लगानीका लागि सुरक्षित मानिन्छ।
राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र खरिद गर्नका लागि कात्तिक १२ गतेदेखि मंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदनका लागि आफूलाई पायक पर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुमा फारम पाइन्छ। फारम भरी बैंक वा वित्तीय संस्थामा बुझाएपछि त्यही संस्थाबाट ६–६ महिनामा व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यसको मंसिर ६ गते निश्कासन हुने छ। ५ वर्षसम्म रकम लगानी गरेपछि २०६९ मंसिर ६ गते साँवा रकम फिर्ता हुने छ। लेखपढ गर्न नजान्ने व्यक्तिले समेत यसमा लगानी गर्न सक्नेछन्। नागरिकता प्रमाणपत्रको प्रतिलिपी, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी बुझाउनुपर्दछ।