गुरुप्रसाद न्यौपानेको सेयर जफत गरेको जनता बैंकले सो सेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै कुल ८५ हजार कित्ता सेयर लिलामी बिक्रीमा राखेको हो।
बैंकको सो सेयर खरिद गर्न चाहनेले कात्तिक १५ देखि २१ गतेसम्म बिक्री प्रवन्धक काठमाडौं क्यापिटलमा शिलवन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्। बोलपत्र कात्तिक २२ गते खोलिने क्यापिटलले जनाएको छ।
आवेदनमार्फत न्यूनतम मूल्य प्रतिकित्ता कम्तीमा १ सय रुपैयाँ तोकेको हुनुपर्नेछ। बैंकको हाल बजारमा मूल्य प्रतिकित्ता २५६ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ।
यसअघि जनता बैंकको संचालक रहँदा न्यौपानेले एक ब्रोकर कम्पनीबाट भित्री सूचनाको दुरुपयोग गरी आफ्नी श्रीमतीको नाममा सेयर खरिद गरेका थिए। खरिद भएको सेयरमा बोनस तथा हकप्रद थपिँदै ८५ हजार कित्ता पुगेको थियो।
माछापुच्छ्रे बैंकसँग मर्जमा जाने सूचना पाएपछि श्रीमतीका नाममा उनले ठूलो परिमाणमा सेयर उठाएका थिए। यद्यपी पछि जनता र माछापुच्छ्रेको मर्ज प्रक्रिया टुटेको थियो। मर्ज प्रक्रिया टुटेपछि दुवैले आ–आफ्नै प्रयासबाट ८ अर्ब चुक्ता पुँजी पुर्याउँदैछन्।
संचालकले आफू र आफ्नो परिवारको नाममा सम्वद्ध कम्पनीको सेयर खरिद गर्न नपाइने प्रावधानलाई न्यौपानेले उल्लंघन गरेको ठहर्दै राष्ट्र बैंकले यसअघि नै उनको सेयर जफत गर्न जनता बैंकलाई निर्देशन दिएको थियो।
सोहीअनुसार जनताले सेयर जफत गरी लिलामी बिक्रीमा राखेको हो।