नेप्से परिसूचक बुधबार करिब १४ अंकले घटेको छ। १३. ९२ अंकले ओर्लिएरनेप्से १५५३ अंकमा कायम भएको छ। क वर्गका कम्पनीको सूचक सेन्सिटिभ ३.१ अंकले घटेको छ।
यस दिन कुल १५९ कम्पनीको ४७ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ। आजको कारोबारपछि बजारको पुँजीकरण १८ खर्ब ३ अर्ब कायम भएको छ।
यस दिन व्यापार र होटलबाहेकका सबै समूह ओर्लिएका छन्। व्यापार ११ र होटल समूह ३१ अंकले बढे। बैंकिङ ११, विकास बैंक ११, जलविद्युत २८, फाइनान्स ५, बिमा ३६, उत्पादन २९ र अन्य समूह २१ अंकले घटेका छन्।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम अग्रस्थानमा रहेको छ। सो कम्पनीको ६ करोड २६ लाखको कारोबार भयो। कम्पनीको मूल्य भने आज प्रतिकित्ता २३ रुपैयाँले घटेर ८४२ कायम भएको छ। त्यस्तै राष्ट्रिय बिमा कम्पनी संस्थापकतर्फको १ करोड ६० लाख रुपैयाँको कारोबार भयो।
कम्पनीको मूल्य कारोबार सुरु भएको १० मिनेटमै प्रतिकित्ता ८ सय ६७ सम्म पुगेको थियो। त्यसपछि निरन्तर घटेको मूल्य अन्तिम समयसम्म कायम रह्यो। यसअघि लगातार बढेको मूल्यमा नाफा बुक गर्नेहरु एकैपटक बढेपछि मूल्य घटेको हो। टेलिकमको सेयर बिक्रीमा चाप परेको छ।
१ करोडभन्दा बढी रकमको कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, नेपाल बैंक, स्टान्डर्ड चार्टड बैंक, एसबिआइ बैंक र ओम डेभलपमेन्ट बैंक संस्थापक कम्पनी रहे।
मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ९ प्रतिशत नाफा कमाए। विशाल बजार कम्पनीको मूल्य ६ प्रतिशतले बढ्यो। ओरियन्टल होटल, सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमका लगानीकर्ता पनि नाफामा रहे।
गुमाउनेमा बरुण हाइड्रोका लगानीकर्ता रहे। सो कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ। नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको मूल्य ५ प्रतिशतले घटेको छ। वाणिज्य बैंक समूहको यस दिन सबैभन्दा बढी रकमको कारोबार भयो।
ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनसपछि मूल्य प्रतिकित्ता ३५४ मा समायोजन भएको छ। समायोजनपछि कारोबार हुँदा मूल्य प्रतिकित्ता ३४५ कायम भएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकको यसअघिको १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांशको प्रस्ताव स्वीकृत भएको कम्पनीले जनाएको छ। कम्पनीले लाभांश खातामा जम्मा गरिदिने प्रक्रिया सुरु गरेको छ।