प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न नेपाल लगानी बोर्ड बैठकले दुइटा जलिविद्युत आयोजना निर्माण तथा विकासका लागि २५ अर्ब ९२ करोड लगानी स्वीकृत गरेको छ।
लगानी स्वीकृत हुनेमा दोलाखा जिल्लामा रहेको तामाकोशी पाचौं र म्याग्दी जिल्लामा रहेको राहुघाट जलविद्युत आयोजना हुन्।
तामाकोशी पाचौं ९९.८ मेगावाट क्षमताको आयोजना हो। यसको लागत १६ अर्ब ४५ करोड ९८ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका लागि नौ अर्ब ४७ करोड ३० लाख रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विकासकर्ता कम्पनी जिएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीले २४ महिना भित्रमा वित्तीय व्यवस्थापन सक्ने सर्तसहित म्याद थप गर्ने निर्णयका लागि मन्त्रीपरिषदमा सिफारिस गरेको छ।
बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले जलविद्युत क्षेत्रमा जलाशययुक्त आयोजना विकासमा जोड दिए। यस्ता आयोजना विकास तथा सञ्चालन गर्दा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार वातावरणमैत्री प्रविधिहरू प्रयोग गर्न निर्देशन दिए।