सबभन्दा बढी विदेशी मुद्राको खर्च वस्तु तथा सेवाको आयातमा हुने गरेको छ। सबैभन्दा बढी विदेशी मुद्राको आर्जन भने नेपाली नागरिकले विदेशमा गएर कमाएर पठाएको पैसा अर्थात् रेमिटेन्सबाट हुने गरेको छ।
चालु आर्थिक वर्षका पछिल्ला महिना लगातार विदेशी मुद्रा सञ्चिति बढ्नुमा आयात र रेमिटेन्सकै भूमिका प्रमुख देखिएको छ। समग्रमा वस्तु तथा सेवाको आयात २० प्रतिशत घटे पनि रेमिटेन्स २५ प्रतिशतले बढेपछि यसको प्रभाव सञ्चितिमा देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
आयातका लागि आवश्यक पर्ने रकममध्ये ७५ प्रतिशत हिस्सा रेमिटेन्सले पूरा गरेको छ। चालु वर्षको पछिल्ला चार महिना लगातार एक खर्ब रूपैयाँभन्दा बढीको रेमिटेन्स आएको छ।
मंसिरमा एक खर्ब दुई अर्ब रूपैयाँ रेमिटेन्स आएकोमा पुस, माघ र फागुनमा एक खर्ब चार अर्ब रूपैयााभन्दा धेरै आएको छ। चालु वर्षको पहिलो महिना साउनमा पनि एक खर्ब रूपैयाँ आएको थियो।
अघिल्लो वर्षभन्दा यसपालिका हरेक महिना रेमिटेन्स बढी आइरहेको छ। यही अवधिमा आयात भने कम छ। गत आर्थिक वर्षको प्रतिमहिना आयात रकम एक खर्ब ६५ अर्ब रूपैयाँको रहेकामा चालु वर्षमा औसत प्रतिमहिना आयात एक खर्ब ३२ अर्ब रूपैयाँको छ।
साउनदेखि फागुन महिनासम्म ८ महिनामा १० खर्ब ५८ अर्ब रूपैयाँको आयात हुँदा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिटेन्स आएको छ।
आयात वृद्धिदरभन्दा रेमिटेन्स वृद्धिदर बढी हुँदा सञ्चितिमा ठूलो समस्या हुँदैन।
आर्थिक वर्ष २०७७/७८ मा आयात गर्दा लागेको रकमको तुलनामा रेमिटेन्सको हिस्सा ६८ प्रतिशत थियो। गत वर्ष यस्तो हिस्सा ५० प्रतिशत मात्रै थियो। आर्थिक वर्ष २०७२/७३ देखि ७६/७७ सम्म भने आयातका लागि लाग्ने रकममा ९० प्रतिशतभन्दा बढी हिस्सा रेमिटेन्स थेगेको थियो। यो वर्ष भने ७५ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षदेखि नै वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले रेमिटेन्स बढे पनि विदेशी मुद्रा आर्जनको वैकल्पिक बाटो खोज्न विज्ञहरूले सरकारलाई सचेत गराएका छन्।