नेपाल पुँजीबजार लगानीकर्ता संघ झापाले अत्यन्त कठिन मोडमा पुगेको नेपाली सेयर बजार जोगाउनुपर्ने माग गरेको छ।
शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई पृष्ठ लामो ज्ञापनपत्र बुझाउँदै संघले त्यस्तो माग गरेको हो। संघले ५ बुँदे माग अघि सारेको छ। सरकार, राष्ट्र बैंक र सरोकारवाला निकायबीच समन्वय र सामञ्जस्यता नहुँदा सेयर बजार धरापमा परेको संघको निष्कर्ष छ।
संघले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो।
आफ्नो गृहनगर धूलाबारीमा ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्माले सरकारले स्पष्ट नीति बनाएर समस्या सम्बोधन गर्नु पर्ने बताए। समस्या समाधानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास पनि उनले दिलाए।
'बोलीमा मात्रै होइन, हामी व्यवहारमै काम र कार्यान्वयन गर्न चाहन्छौं,' महामन्त्री शर्माले भने, 'सरकारले आफैं चासो दिएर हल गर्नुपर्ने समस्या तपाईंहरूले उठाई रहनुभएको छ। पार्टी र सरकार यो समस्या सम्बोधन गर्ने विषयमा सकारात्मक छ।'
सेयर बजारलाई कसैले अनुत्पादक क्षेत्र भनिदिँदा समस्या भएको उनको टिप्पणी छ। सरकारले सेयर बजारको लगानी व्यवस्थित गर्नुपर्ने ठाउँमा व्यवसायीले सरकारलाई घच्घच्याएकोमा महामन्त्री शर्माले प्रसन्नता समेत व्यक्त गरे।
महामन्त्री शर्माले भने, 'अब राजनीतिक मान्छेलाई घच्घच्याउने अवस्थाको अन्त्य हुन्छ। त्यसका लागि सामूहिक पहल जरुरी छ।'
सरकारले सेयर बजारमा आकर्षण बढाउने नीति बजेटमा समावेश गरेको उल्लेख गरेका महामन्त्री शर्माले प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरसँग छलफल गरेर समस्या समाधानको मार्ग पहिल्याउने आश्वासन दिए।
राष्ट्र बैंकद्वारा सेयर कर्जामा लगाइएको सीमा हटाइनुपर्ने, सेयर कर्जाको जोखिम भार १५० बाट १०० कायम गरिनुपर्ने, बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा लगाइएको प्रतिबन्ध फुकुवा गरिनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स र ब्रोकरलाई शाखा खोल्न अनुमति दिइनु पर्ने, काठमाडौंमा आन्दोलनरत पुँजीबजार लगानीकर्ता संघ-संगठनका नेतृत्वसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गरिनुपर्ने लगायत मागसहितको ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्माले समस्याको हल गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए।
उनले बुझेको ज्ञापनपत्र तत्काल प्रधानमन्त्री देउवालाई पठाएका छन्। प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई ह्वाट्सएपमा ज्ञापनपत्र पठाएर शर्माले प्रधानमन्त्रीलाई तत्काल जानकारी गराउन आग्रह गरे।
महामन्त्री शर्माले आफू काठमाडौं गएपछि सभापति देउवालाई भेटेर अर्थमन्त्री, गभर्नर, सरोकारवाला र प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा समस्या सुल्झाउन पहल गर्ने विश्वास दिलाए।
लगानीकर्ता संघ झापाका अध्यक्ष कृष्ण कार्की, महासचिव रमेश लुइँटेलसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो। त्यस अवसरमा उनीहरूले लगानीकर्ताको लगानी सुरक्षित गर्नुपर्ने माग गरेका थिए। उनीहरूले झापामा मात्रै पाँच लाख जना लगानीकर्ता रहेको र आम लगानीकर्ताको समस्या सम्बोधन गर्न सरकारसँग माग गरे।