स्वतन्त्र पुँजी बजार सुधार संघले पूर्व उप-प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटेर सेयर बजार सुधारको लागि पहल गरिदिन आग्रह गरेका छन्।
संघका अनुसार पूर्व अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सेयर बजार मैत्री नीतिहरू ल्याएका थिए। उनको कार्यकालमा बजारले हालसम्मकै उच्च बिन्दु पुगेको थियो। भेटमा पूर्व अर्थमन्त्री पौडेलले संघलाई आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पौडेलले सेयर बजारमा देखिएको हालको समस्या निराकरणको लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
संघको तर्फबाट अध्यक्ष सुशिल लुनिया, संरक्षक उपेन्द्र पाठक, वरिष्ठ लगानीकर्ता दिपेन्द्र अग्रवाल, संघका उपसचिव शिरिष आचार्य तथा युवा लगानीकर्ता सरोज लामिछानेले पौडेलसँग भेटघाट तथा छलफलमा सहभागी थिए।
संघले पूर्व अर्थमन्त्री पौडेललाई पुँजी बजारमा चलिरहेको हालको आन्दोलन, आमरण अनसन लगायतका कार्यक्रमहरूको समेत जानकारी गराएको छ।