बहुसंख्यक पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै र चालू आर्थिक वर्षको भन्दा साढे १६ प्रतिशतभन्दा बढीले आकार घटाउँदै विराटनगर महानगरले आगामी वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ।
महानगरले आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट शुक्रबार सार्वजनिक गरेको छ।
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले १० औं नगर सभामा बजेट पेस गर्दै आकार घटाइएको जानकारी दिएकी हुन्।
महानगरले चालु आर्थिक वर्षको लागि ४ अर्ब ६३ करोड २ लाख ८१ हजार ५ सय रुपैयाँ बजेट ल्याएको थियो।
चालु आर्थिक वर्षको तुलनामा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ४ करोड ७१ लाख ४ हजार ५ सय रुपैयाँको कम बजेट ल्याएको छ।
महानगरपालिकाको आगामी वर्षका लागि व्ययतर्फ कूल बजेटमध्ये प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्रतर्फ २७ करोड ७३ लाख, सामाजिक विकास क्षेत्रतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख र वातवरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ ३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडास्तरीय आयोजनाको लागि ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजना लागि २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड, आरयूडिपीबाट निर्माण भएका पिच सडकहरू समेत गरी ममर्तसम्भारका लागि १४ करोड रुपैयाँ, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख रुपैयाँ, फोहोर पानी प्रशोधन केन्द्रको लागि २ करोड ५० लाख रुपैयाँ, समपूरक कोष ४ करोड ८० लाख विनियोजन गरिएको उपमेयर कार्कीले जानकारी दिइन्।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब २१ करोड ८५ लाख रुपैयाँ र प्रदेश सरकारतर्फ ४ करोड ९१ लाख ९७ हजार रुपैयाँ, राजस्व बाँडफाँट १ अर्ब १३ करोड ९९ लाख ७० हजार रुपैयाँ, आन्तरिक आय १ अर्ब रुपैयाँ, जनसहभागिता ८ करोड रुपैयाँ, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख रुपैयाँ, अन्य संघसंस्था ३ करोड ६० लाख रुपैयाँ हुने अुनमान गरेको उपप्रमुख कार्कीले बताइन्।
महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि शैक्षिक विकास कार्यक्रममा ७ करोड ७० लाख रुपैयाँ, युवा विकास कार्यक्रममा १ करोड १० लाख रुपैयाँ, स्वास्थ्य विकास कार्यक्रममा ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
महानगरपालिकाले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ।
महानगर क्षेत्रभित्र मेट्रो सिटी अस्पताल सञ्चालनमा ल्याउने घोषणा गरेको महानगरले त्यसको लागि सम्भाव्यता अध्ययन, जग्ग्गा व्यवस्थापन तथा डिजाइन नक्सा निर्माण जस्ता कार्यहरू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ।
महानगरले गर्भवतीहरूको निःशुल्क भिडिओ एक्स–रे सेवा सञ्चालनमा ल्याउने भएको छ। मातृ तथा बाल मृत्युदर कम गर्न र जन्मजात अपांगतालाई समयमै पहिचान गर्न महानगरपालिकाभित्रका सम्पूर्ण गर्भवतीहरूको निःशुल्क भिडिओ एक्स–रे सेवा सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै, महानगरपालिकाले आफ्नै एम्बुलेन्स र शववाहन व्यवस्था गरी सञ्चालनमा ल्याउने भएको छ।
महानगरपालिकाले प्रधानमन्त्री पार्क पनि निर्माण गर्ने भएको छ।
विराटनगरबाट प्रतिनिधत्व गर्दै नेपालको प्रधानमन्त्री समेत भएका सम्मानित व्यक्तिहरूको सम्झना र जीवनी सहितको अभिलेखहरू संरक्षण गर्न मिनी संग्रहालय सहितको एक प्रधानमन्त्री पार्क निर्माण गरिने उल्लेख छ।