भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा २२ करोड ६८ लाख ६८ हजार रुपैयाँ बजेट बढाएको छ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षका लागि पुरक समेत गरी ५ अर्ब ५१ करोड ७३ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको थियो।
महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँट जनसहभागिता लगायतका शीर्षकमा बजेट बढाएको छ।
यसपटक आन्तरिक आय ३० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ।
अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी वर्ष १४ करोड ७० लाख १७ रुपैयाँले वृद्धि हुने अनुमान गरिएको छ।
महानगरका उपमेयर चित्रसेन अधिकारीले पेस गरेको बजेटमा आन्तरिक आय १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार रुपैयाँ, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।
जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड आउने प्रक्षेपण गरिएको छ।
महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।
महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको छ।
ठूला र रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको स्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न ६ करोड, मुख्य सहरी क्षेत्रमा ढल निर्माण, विद्युतीय बस खरिद, सार्वजनिक शौचालय निर्माण, ओभर हेड ब्रिज, परियोजना बैंक निर्माण, लगायतका अन्य पूर्वाधारका लागि २८ करोड, कृषि तथा पशु विकासका लागि १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै शिक्षाका पूर्वाधार तथा दक्षता अभिवृद्धिका लागि १३ करोड, नियमित मर्मत सम्भारका लागि ८ करोड, विभिन्न स्वास्थ्य कार्यक्रम तथा नीति कार्यान्वयनका लागि ७ करोड, मासिक ७ हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराए वापत खानेपानी बोर्डलाई भुक्तानी दिन ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
फोहोरमैलाको स्रोत केन्द्रमा नै व्यवस्थापन, एक वडा एक पार्क, डम्पिङ साइट व्यवस्थापन, फोहोर संकलन तथा ढुवानीका लागि ७ करोड बजेट विनियोजन गरिएको छ।
सूचना प्रविधि एवं डिजिटल प्रणालीको लागि ३ करोड, सहकारी तथा रोजगार प्रवर्द्धनका लागि २ करोड ५० लाख, पर्यटन तथा उद्योगका लागि २ करोड ५० लाख, विभिन्न खेलकुद तथा युवासँग सम्बन्धित कार्यक्रमका लागि २ करोड बजेट विनियोजन गरिएको छ।
महानगरभित्र स्थायी रूपमा बसोबास गर्ने महिलाहरूबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूका लागि छोरी बीमा कार्यक्रममा खर्च गर्न २ करोड, शहिद बेपत्ता घाइते, अपाङ्ग, जेष्ठ नागरिक विश्रामस्थल कार्यक्रमका लागि २ करोड बजेट विनियोजन गरिएको छ।
विपद् व्यवस्थापन र त्यसको पूर्व-तयारीका लागि २ करोड ४५ लाख ५२ हजार बजेट व्यवस्थापन गरिएको छ।
सम्पूर्ण करदाताहरूको अभिलेख अद्याविधिक तथा करलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने लगायतका कार्यक्रमका लागि १ करोड, कर्मचारीको क्षमता अभिवृद्धि, तालिम, भ्रमण, सार्वजनिक सुनुवाइ, सामाजिक लेखा परीक्षण, नागरिक सहायता केन्द्र सञ्चालन लगायतका कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।
संघ तथा प्रदेश र विभिन्न निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनमार्फत् स्रोत जुटाई दीगो पूर्वाधार विकास लगायतको कार्य गर्न ५० लाख, समग्र प्रशासनिक खर्चका लागि ७५ करोड, मागमा आधारित लक्षित वर्ग कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन गरिएको छ।