जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट ल्याएको छ।
उपमहानगर प्रमुख मेयर मनोज साहले नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेका हुन्।
उपमहानगरले चालुतर्फ १ अर्ब ७ करोड ४१ लाख २७ हजार रुपैयाँ अर्थात् ५९.४५ प्रतिशत र पुँजीगततर्फ ७३ करोड ३० लाख १८ हजार रुपैयाँ अर्थात् ४०.६ प्रतिशत रकम विनियोजन गरेको छ।
तीमध्ये आर्थिक विकासतर्फ ४ करोड ५६ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ६७ करोड ४२ लाख, पूर्वाधार विकासतर्फ ६४ करोड ६५ लाख रुपैयाँ, वन वातावरण तथा विपद् व्यवस्थापन विकासतर्फ ५ करोड रुपैयाँ र सुशासन तथा संस्थागत विकासतर्फ ४९ करोड ७१ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको मेयर साहले बताए।
फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा नगर क्षेत्रको सुन्दरता प्रवर्द्धन, शिक्षा युवा तथा खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, पूर्वाधार तथा सहरी सौन्दर्य, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन लगायतका शीर्षकलाई समेत बजेटमा समेटिएको छ।