धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोड ८९ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ।
नगर सभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला रानाले १ अर्ब ३ करोड १९ लाख रुपैयाँ चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार रुपैयाँ पुँजीगततर्फ बजेट विनियोजन गरेकी छन्।
आगामी आर्थिक वर्षका लागि चालु वर्षको भन्दा एक करोड ६ लाख ३१ हजार रुपैयाँ बढाएर बजेट ल्याएको उपप्रमुख रानाले जानकारी दिइन्।
आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँडतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख रुपैयाँ उपमहानगरपालिकाले विनियोजन गरेकाे छ।
यस्तै, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ।