पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। जसमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकारको अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आयबाट ३ अर्ब १ करोड रूपैयाँ बेहोर्ने उल्लेख छ।
यस्तै, संघीय राजश्व बाँडफाँडबाट ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ४२ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरेको छ। कुल बजेटमा कम हुन जाने २ अर्ब ४० करोड ४२ लाख रूपैयाँ चालु बजेटबाट बचत हुने रकमबाट बेहोर्ने उल्लेख छ।
पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा पेस गरेको बजेटमा सबभन्दा धेरै रकम पूर्वाधार विकासमा विनियोजन गरिएको छ। महानगरको नगर कार्यपालिकाको कार्यालयतर्फ १ अर्ब २५ करोड ८७ लाख, सामाजिक विसकामा २ अर्ब ६ करोड ९२ लाख, शिक्षामा १ अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यमा ५० करोड ५ लाख, कृषिमा १६ करोड ७३ लाख, वडा कार्यालयमार्फत ७२ करोड ६० लाख र भौतिक पूर्वाधार विकासमा ४ अर्ब ५३ करोड ६२ हजार रूपैयाँ विनियोजन गरिएको छ।
यसअघि बजेट पेस गर्न बसेको नगरसभा बैठकमा एमाले जनप्रतिनिधिले बहिष्कार गरेका थिए। एमाले संसदीय दलका नेता राधिका शाही योगीले बजेट च्यातेकी थिइन्। बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब प्रकाशन गरेको आरोपमा उनले बजेट च्यातेकी हुन्। त्यसपछि स्थगित भएको बैठक वार्तामार्फत सहमतिमा पुगेपछि फेरि सुरू भएको मेयर धनराज आचार्यले जानकारी दिए।
बजेटमा महानगरपालिकाका सबै वडामा स्मार्ट शौचालय बनाउने उल्लेख छ। एक वडा एक स्मार्ट शौचालय बनाउन ५ करोड रूपैयाँ छुट्याइएको छ। शौचालयसँगै शुद्ध पिउने पानीको व्यवस्थासमेत गर्ने बजेटमा उल्लेख छ। भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरमा ३३ वटा वडा छन्।
पोखरा प्रवेशद्वारमा पार्क स्थापना गर्ने बजेटमा उल्लेख छ। यस्तै, पोखरा– ३३ मा ल्यान्डफिल साइट बनाउन १० करोड रूपैयाँ विनियोजन गरिएको छ। एक घर एक बिरुवा रोपण अभियान चलाउने, सहरमा हरियाली प्रवर्द्धन गर्ने लगायतका योजना बजेटमा उल्लेख छ।
महानगरमा तत्काल सम्पदान गर्नुपर्ने कार्य र मर्मत सम्भारका लागि आकस्मिक सेवा व्यवस्थापन महाशाखा स्थापना गर्ने उल्लेख छ। उक्त महाशाखाले विशेषगरी पोखराको सडक खाल्डा पर्नेबित्तिकै टाल्ने व्यवस्था मिलाउने जनाएको छ। उसका लाग महानगरले ५ करोड रूपैयाँ विनियोजन गरेको छ।
महानगरले पोखरा गौरवका आयोजनाका लागि ६५ करोड विनियोजन गरेको छ। जसमा लेकसाइडको सोन्दर्यीकरण, अत्याधुनिक सुविधासहितको ल्यान्डफिल साइट निर्माण तथा फोहोर व्यवस्थापन, अटो भिलेज, पोखरा चक्रपथ, सूचना केन्द्रसहितको पोखरा भवन, अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको फास्ट ट्रयाक निर्माण, ट्राफिक व्यवस्थापन, फेवा हर्वल ट्रेक, अत्याधुनिक स्मार्ट शौचालय, फेवाताल र बेगनासतालमा वाटरस्पोर्टस्, ढल व्यवस्थापन लगायतका योजना समेटिएका छन्।