उपमेयरकाे व्यापक असन्तुष्टिबीच धनगढी उपमहानगरपालिकाकाे बजेट बहुमतले पारित भएको छ।
साेमबार नेकपा एमालेका उपमेयरसहित अन्य नगर सभाषदकाे असहमतिबीच उपमहानगरपालिको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आठौं नगर सभाको तेस्रो बैठकबाट बजेट पारित भएकाे हाे।
धनगढी उपमहानगरपालिकाले आर्थिक विकासतर्फ १४ करोड ४५ लाख ११ हजार, सामाजिक विकासतर्फ ७४ करोड ७८ लाख ३३ हजार र पूर्वाधार विकास तर्फ ४१ करोड ४१ लाख २७ हजार रूपैयाँ बजेट छुट्याएको छ।
यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ७ करोड ६३ लाख ४३ हजार र कार्यालय सञ्चालमा ४४ करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।
एक अर्ब सात करोड २३ लाख चालु र ७८ करोड ६६ लाखको पुँजीगत गरी उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार एक अर्ब ८३ करोड ८९ लाखको बजेट नगरसभामा पेस भएको थियाे। साे बजेट नगरसभामा बहुमतले पारित भएको नगर प्रमुख गोपाल हमालले घाेषणा गरेका थिए।
उपमेयर कन्दकला रानाले भने बजेट बनाउने क्रममा प्रमुख प्रशासकीय अधिकृत र मेयरले एकलाैटी निर्णय गरेकाे भन्दै छलफल गरेर आफ्नाे याेजना पनि समावेश हुनुपर्ने माग गरेकी थिइन्।
रानाले आफूसँग सल्लाह नगरी बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि मेयर र उपमेयरबीच चर्काचर्की भएको थियाे।
साेहीक्रममा एमालेका नगरसभा सदस्यले कुर्सी फालेका थिए। दिउँसो २ बजेबाट सुरू भएको सभा राति करिब ९ बजेसम्मै चलेकाे थियाे। साे अवधिभर उपमेयर आफ्नो मागमा अडिग रहिन्।
उनले बजेट नगरसभामा पास हुने बेला पनि आफ्नो कुनै सहमति नभएको बताइरहेकी थिइन्।