समय र अर्थतन्त्रको मागअनुसार आगामी मौद्रिक नीति आउने नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन्।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा गर्भनर अधिकारीले समय र अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउने भएकाले आफ्नो इच्छाले नहुने बताएका हुन्।
'समय र अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउने हो। मेरो इच्छाअनुसार आउने होइन,' उनले भने, 'अर्थतन्त्रका सूचक ठीक ठाउँमा छैनन्। सुविधाजनक संकेत छैन। चालु खाता तथा भुक्तानी सन्तुलन ऋणात्मक भइरहेको छ। यस्तोमा धेरै सचेत हुनुपर्छ।'
उनले निजी क्षेत्रबाट आएका सुझावलाई लिएर नीति तयार गरिने बताए। कोरोनापछिका संकट र त्यसको परिणामले मुद्रास्फीतिको दबाब देखिएको समेत उनले बताए।
आफ्नो स्वार्थमा नभई अर्थतन्त्रको हितमा मौद्रिक नीति ल्याउन सघाउन उनले व्यवसायीलाई आग्रह गरेका छन्।
‘उद्योगी व्यवसायीले आफ्नो हितमा नीति आओस् भन्ने चाहनु स्वभाविक नै हो। तर अहिले अर्थतन्त्र बिग्रेको हुनाले अर्थतन्त्र सुधार गर्ने गरी नीति ल्याउन आवश्यक छ,’ उनले भने।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय फस्टिने गरी नीति ल्याउन आग्रह गरे। उनले राष्ट्र बैंकले उपलब्ध उपकरणको प्रयोग गरी कर्जाको ब्याजदर एकल अंकमा राख्न प्रयत्न गर्नुपर्ने बताएका छन्।
आयात रोक्न ब्याजदर बढाउने नीतिले उत्पादनमा प्रतिकुल असर परेको हुँदा उक्त नीतिको पनि पुनरावलोकन गर्न आग्रह गरे।
‘बैंकिङ जोखिमको अवस्था हेरि सिडि रेसियोमा परिमार्जन गर्न सकिने तर्फ मौद्रिक नीतिले अध्ययन गर्नुपर्छ। सिआरआर अहिले पनि कम नै रहेको अवस्थामा यसको थप व्यवस्थापनमा ध्यान दिइनुपर्छ,’ उनले भने।
संस्थागत क्षेत्रको पैसा उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्ने गरी नीतिगत व्यवस्था गरिदिन उनले राष्ट्र बैंकका गर्भनर अधिकारीलाई आग्रह गरे।
वैदेशिक रोजगारबाट फर्किएपछि पाउने हालको सहुलियतपूर्ण कर्जा सुविधालाई वैदेशिक रोजगारमा रहेकै बखत उक्त व्यक्तिको आश्रित परिवारको कुनै एक जना सदस्यलाई प्रदान गर्न सकिने व्यवस्था गर्न समेत उनले आग्रह गरेका छन्।
निर्यात नगद प्रोत्साहन दिँदा सम्पूर्ण निर्यातजन्य वस्तुहरूको निर्यात परिमाण र मूल्य अभिवृद्धिको आधारमा बढाउँदै लैजानुपर्ने तथा भुक्तानी प्रक्रिया सहज गरिनुपर्ने उनको भनाइ छ।
आयात प्रतिस्थापन गर्न सकिने वस्तु उत्पादन गर्ने उद्योगलाई पुनरकर्जा सुविधा दिन उद्योगीले गर्भनरलाई सुझाएका छन्।