नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा आर्थिक संकटका संकेतहरू देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारण सभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन। त्यो समस्या हामी पनि झेलिरहेका छौं।'
उनले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाई राख्न संसारभरमा रहेका नेपालीहरूले नेपालमा पुँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे।
'नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरूले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ। यसबाट लाभ लिनुहोस् र नेपालमा बढीभन्दा बढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ,' उनले भने।
उनले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस-युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरू देखा परिरहेको र महंगी बढेको, र त्यसको मारमा नेपालमा पनि परेको धारणा व्यक्त गरे।
लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरूमध्ये नेपाल पनि एक रहेको उहाँको भनाई छ। उनले नेपालमा लगानीका कैयौं सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दा धेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश गरे।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरूले गैरआवासीय नेपालीहरूसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेश गरे।