दुई वर्षभन्दा बढी समयदेखिको कोरोनाभाइरसको महामारी र केही महिनादेखि चलिरहेको रूस-युक्रेन युद्धले अहिले संसारभरिको अर्थतन्त्रमा असर देखिइरहेको छ।
सानो अर्थतन्त्र भएका र गरीब मुलुक मात्र होइन, अर्थतन्त्रको आकार विशाल भएका र धनी मुलुकका अर्थतन्त्र पनि दबाबमा छन्।
संसारको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले पनि त्यसको मार सामना गरिरहनुपरेको छ।
अमेरिकामा अहिले मुद्रास्फिति ४० वर्षअघिको विन्दुनजिक छ। सन् १९८१ मा अमेरिकाको मुद्रास्फिति दर १०.३ प्रतिशत थियो। यसपटक जुन महिनामा मुद्रास्फिति दर ८.६ प्रतिशत पुग्यो।
कोरोना महामारी, रूस-युक्रेन युद्ध र चीनको लकडाउनका कारण आपूर्ति श्रृंखलामा अवरोध पुगेकाले आर्थिक वृद्धिमा असर पुग्ने भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरिरहेका छन्।
स्थिर आर्थिक वृद्धि र बढ्दो मूल्यको विशाक्त मिश्रण हो, आर्थिक मन्दी। सन् १९७० को दशकमा यसले विश्व अर्थतन्त्रलाई नराम्री प्रभावित पारेको थियो।
पाँच दशकअघि देखा परेको मन्दीको अवशेष अझै बाँकी रहेकाले आगामी समय कष्टकर हुनसक्ने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन्।
यही साता विश्व अर्थतन्त्रबारे प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले भनेको छ- उच्च मुद्रास्फिति र आर्थिक वृद्धिमा देखा परेको धिमापनले यसपालि पनि सन् १९७० कै मन्दीको झल्को दिनसक्छ।
७० को दशकको सुरूदेखि १९८० को सुरूवातसम्म मन्दीको स्थिति थियो। यस अवधिमा अत्याधिक मुल्यवृद्धि थियो भने मुद्रास्फिति र बेरोजगारीको दर दोहोरो अंकको थियो।
सुस्त आर्थिक वृद्धि र बढ्दो मुद्रास्फिति दुबैलाई समावेश गर्न सन् १९६५ मा बेलायतका सांसद लेन म्याकलोडले ‘स्ट्यागफ्लेसन’ शब्द अघि सारेका थिए। यसबारे उनको व्याख्या थियो,‘हामी अहिले मुद्रास्फिति (इन्फ्लेसन) र स्थिर (स्ट्यागनेसन) आर्थिक स्थितिको असर एकसाथ व्यहोरिरहेका छौं। त्यसकारण हामी ‘स्ट्यागफ्लेसन’को अवस्थामा छौं।’
बढ्दो मुद्रास्फितिले उपभोक्ताको क्रय शक्ति घटाउँछ। उपभोक्ताको क्रय शक्ति घट्दा वस्तुको माग घट्छ। माग कम भएपछि उत्पादनमा असर पुग्छ। उत्पादनमा कम हुँदा उद्योगको नाफा घट्छ। नाफामा असर पुगेपछि उद्योग बन्द गर्नु पर्ने हुनसक्छ।
यस्तो अवस्थाले केन्द्रीय बैंकहरू दबाबमा पर्छन्। उनीहरूको काम भनेकै मुद्रास्फिति र बेरोजगारीलाई न्यून बनाउन सहयोगी हुनु हो। यस्तो अवस्थामा केन्द्रीय बैंकले महँगी र मुद्रास्फिति नियन्त्रणका लागि ब्याजदर बढाउन सक्छन्। यो काम अमेरिकाको फेडरल रिर्जभ बैंकले सुरूवात गरिसकेको छ र यो वर्ष त्यसलाई निरन्तरता दिने देखिन्छ। तर यो क्रम आक्रामक रूपले अघि बढेमा यसले खर्चमा असर पुर्याउनेछ र कालान्तरमा मन्दी निम्त्याउन सक्नेछ।
अमेरिकामा पाँच दशकअघिको ‘स्ट्यागफ्लेसन’मा तत्कालीन राष्ट्रपति लिण्डन बेन्स जोन्सनको भूमिका थियो। खर्चिलो भियतनाम युद्ध र सामाजिक कार्यक्रमअन्तर्गत धरै पैसा खर्च गरेकाले मन्दीको स्थिति देखापरेको भन्दै उनको आलोचना हुने गरेको छ। त्यतिबेला फेडरल रिजर्भका प्रमुख विलियम मार्टिनले आर्थिक सूचांक सुधार हुनेगरी मौद्रिक नीतिमा कडाइ नगर्नाले पनि यो स्थिति सिर्जना भएको थियो।
सन् १९७० को दशकको सुरूवातमा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले आर्थर बर्नसलाई फेडरल रिर्जभको प्रमुख बनाए। आर्थरले मुद्रास्फिति नियन्त्रणका निम्ति ज्याला र मूल्यवृद्धि नियन्त्रण गरे। सन् १९७३ मा अरब मुलुकले तेल बिक्रीमा कडाइ गरेपछि भने इन्धनको मूल्य आकाशियो। त्यसले मुद्रास्फितिमा नकारात्मक असर पुर्याउँदा पनि बर्नसले नजरअन्दाज गरिरहे। आर्थिक वृद्धि दर घटेको र बेरोजगारी दर बढेको कुरा महशुस नै गर्न नसकेको आरोप बर्नसमाथि छ। आफैंले कटौती गरेको कामदारको ज्याला बर्नसले पछि बढाए। यसले मन्दीमा सहयोग पुर्यायो।
सन् १९७० मा अमेरिकाले सामाना गरेको मन्दी निकै कष्टकर रूपले अन्त्य भएको थियो। फेडरल रिजर्भका प्रमुख पउल भल्करले सन् १९८१ मा ब्याजदरलाई २० प्रतिशत पुर्याइदिए। त्यही वर्षमै अमेरिकामा मुद्रास्फिति र बेरोजगारी दर दोहोरो अकंमा थियो।
सन् १९७० को दशकको स्थिति र हालको अवस्था उस्तै रहेकाले अमेरिकी अर्थतन्त्रमा चुनौती थपिएको छ। इन्धन, खाद्यान्न र जीवनयापनको लागत बढ्दा अमेरिकी अर्थतन्त्रको आगामी स्वरूपबारे चिन्ता प्रकट भइरहेको छ।
सन् १९७० को दशक र हालका केही सूचकमा प्रमुख भिन्नता पनि छन्। सन् ७० को दशक र १९८० को सुरूवाततिर बेरोजगारी दर १० प्रतिशत थियो। सन् २०२२ को मेको तथ्यांकअनुसार बेरोजगारी दर ३.६ प्रतिशत छ। अमेरिकामा अहिले मुद्रास्फिति उच्च रहे पनि बेरोजगारीको स्थिति ५० वर्षअघिको तुलनामा न्यून छ।
अमेरिकी अर्थतन्त्र पहिलो त्रैमासिकमा खुम्चिए पनि दोस्रो त्रैमासिकबाट क्रमश: बढ्ने प्रक्षेपण गरिएको छ। दोस्रो त्रैमासिकबाट उपभोक्ता र व्यवसायिक खर्च बलियो बन्ने देखिएकाले आर्थिक वृद्धि पुन: सुरू हुने आँकलन छ।
(द वाल स्ट्रिट जर्नलमा प्रकाशित सामग्रीको भावानुवाद।)