नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरूलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ।
सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा मंगलबार भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयकहरू अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरू सम्बोधन हुन नसकेको बताएका थिए।
धितोपत्र सम्बन्धी ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक अर्थ समितिमा छलफलको क्रममा छ। यस्तै, बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने सम्बन्धी ऐन पनि अर्थ समितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ।
बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे।
उनले भने, 'मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एवम् प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्बन्धित सबै विधेयकहरूलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुखलाई आग्रह गर्छु।'
सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुखलाई आग्रह गरे। गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवर्द्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ।
गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गरे। संघीय निर्वाचन अघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयकहरू पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरूलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
सभामुख सापकोटाले भने, 'केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु। बजेटसँग सम्बन्धित विद्येयकहरू करिब-करिब सकिएको छ। अरू विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु।'
छलफलका क्रममा रहेका आर्थिक विधेयकहरूका सम्बन्धमा सम्बन्धित समितिका सभापतिहरूसँग जानकारी लिने समेत सभामुख सापकोटाले बताए।
सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरू संसदीय समितिमा झण्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए।
यस्ता छन् प्रतिनिधि सभामा विचाराधिन विधेयकहरू:
- धितोपत्र सम्बन्धी ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने सम्बन्धी विधेयक
- सूचना प्रविधि सम्बन्धी बनेको विधेयक
- बीमा सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक
- भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
- सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न बनेको विधेयक
- प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक
- निकासी पैठारी कानुनलाई संशोधन गर्न तथा एकीकरण गर्न बनेको विधेयक
- गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक
- प्रत्यायन (एक्रिडिटेशन) विधेयक २०७६
- स्टाण्डर्ड नाप र तौल पाँचौ संशोधन विधेयक