नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गरेको छ। चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवम् नेपाल धितोपत्र बोर्डलाई नीतिगत सुझाव बुझाएको हो।
पुँजी बजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझावहरू पेश गरिएको अध्यक्ष राजेन्द्र मल्लले बताए।
विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धरासायी बन्दै गएको र लगानीकर्ताहरू निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टा-छुट्टै सुझाव पेश गरिएको अध्यक्ष मल्लको भनाइ छ।
चेम्बरले धितोपत्र बजारबाट पुँजी निर्माणलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुरुप विभिन्न कोष सञ्चालनका लागि करको उचित व्यवस्था गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ ।
यसबाहेक, चेम्बरले विभिन्न धितोपत्रको कारोबारबाट हुने नाफामा कर लगाएर धितोपत्रको विविधीकरणलाई प्रोत्साहन गर्न सुझाव दिएको छ ।
चेम्बर अफ कमर्ससले नेपाल राष्ट्र बैंकलाई पनि छुट्टै तीन बुँदे सुझाव दिएको छ। मौद्रिक नीति सार्वजनिक गर्नु अघि पुँजी बजारलाई सम्बोधन गर्नुपर्ने विषय समावेश गरिएको अध्यक्ष मल्लले बताए।
चेम्बरले धितोपत्र बोर्डलाई छुुट्टै १० बुँदे सुझाव समेत पेश गरेको छ। अन्तर्राष्ट्रिय प्रचलन बमोजिम धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ।
चेम्बरले धितोपत्र बजारको पूर्वाधारको उचित व्यवस्थापन गरी अन्तर्राष्ट्रिय बजारमा प्रयोग हुने विभिन्न प्रकारका धितोपत्र उपकरणहरू तत्काल जारी गर्न समेत धितोपत्र बोर्डलाई आग्रह गरेको छ ।