नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन्।
गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै उनले गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका हुन्। उनले कोभिड-१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा सञ्चितिमा संकुचन देखिएको बताउँदै यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए।
'मुलुक अहिले वैदेशिक मुद्रा सञ्चितिको चाँपबाट गुज्रिएको छ। नेपालमा वैदेशिक मुद्रा भित्र्याउदै लगानी विस्तारका लागि तपाईंहरूलाई यो उपयुक्त अवसर हो,' कार्यक्रममा भने, 'प्रत्येक मुलुकको वा शहरको समूहहरू बनाई कलेक्टिभ रूपमा ठूला-ठूला आयोजनाहरूमा लगानी विस्तार गर्नुहोस्। तपाईंले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ।'
उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए।
उनले थप भने, 'नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईंहरूको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईंहरूसँगै हुनेछौँ। तपाईंहरूलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्नेमा प्रतिबद्धता समेत जनाउन चाहन्छु।'
महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले नेपालको अर्थतन्त्रका केही सूचकहरू नकारात्मक रहेपनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताए।
'नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन। श्रीलंका ठूलो विदेशी ऋणमा छ। हामी त्यस्तो अवस्थामा छैनौं। अर्को कुरा उनीहरूकोभन्दा हाम्रो अर्थतन्त्रमा रेमिटेन्स भूमिका फरक खालको छ। त्यसैले हामी कुनै पनि हालतमा श्रीलंका हुँदैनौ र त्यो बाटोमा पनि छैनौं,' उनले भने।
आइपिओमा गैर आवासीय नेपालीहरूलाई १० प्रतिशत कोटा छुट्याउँदा अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुगेको बताउँदै उनले नेपालमा गैर आवासीय नेपालीहरूको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
उनले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रूपमा लिन गैर आवसीय नेपालीहरूलाई आग्रह समेत गरेका छन्।