आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको बेलहिया भन्सार कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ।
आर्थिक वर्ष २०७७/७८ मा ९९ अर्ब ६५ करोड ७६ लाख ८ हजार रुपैयाँको राजश्व असुली गर्ने लक्ष्य तोकिएकोमा कार्यालयले १ खर्ब १२ अर्ब ५४ करोड २५ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो। उक्त संकलित राजश्व विभागले तोकिदिएको लक्ष्यभन्दा १३ प्रतिशतले बढी हो।
तर गत आर्थिक वर्ष २०७८/७९ मा भने कार्यालयले भन्सार विभागले तोकिदिएभन्दा ९ प्रतिशतभन्दा कम राजश्व संकलन गरेको छ।
आर्थिक वर्ष २०७८/७९ का लागि विभागले कार्यालयलाई १ खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। त्यसमध्ये १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको कार्यालयले जनाएको छ। संकलन भएको राजश्व रकम विभागले दिएको लक्ष्यको ९० दशमलव ९४ प्रतिशत मात्रै हो।
त्यसअघि आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ मा पनि कार्यालयले लक्ष्यभन्दा धेरै कम राजश्व संकलन गर्न सकेको थियो।
कार्यालयका अनुसार २०७४/०७५ मा ८६ प्रतिशत, २०७५/०७६ मा ८८ प्रतिशत र २०७६/७७ मा जम्मा ६६ प्रतिशतमात्र राजश्व असुल भएको थियो।
बेलहिया भन्सार नाका बाहिरबाट सामान आयात हुने मुलुककै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको छ। तर पछिल्लो केही महिनायता नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरूको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुइटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि आयात हुने वस्तुमा कमी आएको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले गत पुस महिनादेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा नयाँ प्रावधान आएपछि लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिएको बताए।
पासवानका अनुसार नयाँ प्रावधान आएपछि पछिल्लो ६ महिनामा झण्डै १५ अर्बका विलासिताका वस्तुहरूको आयातमा कमी आएको छ।
गत पुस ५ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा अनिवार्य प्रतित पत्र एल.सी खोलेर शतप्रतिशत र दुइटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो।
भन्सार कार्यालयका अनुसार २०७८/०७९ मा बेलहिया नाकाबाट जीप, कार, भ्यान, मोटरसाइकल, पिकअप तथा डेलिभरी भ्यान, एमएस विलेट, ग्लेज टाइल, पेट्रोल, हाइस्पीड डिजेल, एलपी ग्यास, मार्बल स्याल्याब, मोबाइल, तयारी कपडालगायतको आयात सबैभन्दा बढी छ।
खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आयात पनि धेरै हुने गरेको छ।
सूचना अधिकृत पासवानका अनुसार जीप, कार, भ्यान, पिकअप तथा डेलिभरी भ्यान र मोटरसाइकलमात्रै ३७ अर्ब ५७ करोड ६८ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
गत आर्थिक वर्षमा जीप, कार, भ्यानबाट झण्डै २२ अर्ब र मोटरसाइकलबाट करिब २० अर्ब रुपैयाँ राजश्व संकलन भएको छ।
गत आर्थिक वर्षमा बेलहिया नाका हुँदै १ लाख ८१ हजार ६ सय ५१ मोटरसाइकल भित्रिएका छन्। मोटरसाइकलको आयातबाट मात्रै एक वर्षमा १८ अर्ब ६९ करोड ४ लाख ८० हजार नेपाली रुपैयाँ बाहिरिएको छ।
अघिल्लो वर्षभन्दा गत वर्ष बेलहिया नाकाबाट मोटरसाइकल आयातमा केही कमी भए पनि गत वर्ष आयात हुने जीप कार र भ्यानहरूको संख्या भने अघिल्लो वर्षभन्दा १ हजारभन्दा बढी रहेको छ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा बेलहिया नाकाबाट ७ अर्ब ६९ करोड ७५ लाख ९६ हजार मूल्य बराबरका ८ हजार ५ सय २६ जीप कार र भ्यान आयात गरिएकोमा गत वर्ष ८ अर्ब ५४ करोड ४१ लाख ४६ हजार मूल्य बराबरका ९ हजार ६ सय ३८ वटा जीप कार र भ्यानहरू आयात गरिएको भन्सार कार्यालयले जनाएको छ।
त्यसैगरी, गतवर्ष मोबाइल टेलिफोनको आयात पनि बढेको छ।
अघिल्लो आर्थिक वर्षमा आयात हुने मुख्य १० वस्तुमा नपरेको मोबाइल टेलिफोन गतवर्ष भने मुख्य दश वस्तुहरूको सूचीमा परेको छ।
गतवर्ष मात्रै ८ अर्ब ९६ करोड ४३ लाख मूल्य बराबरका ६ लाख ३८ हजार २ सय ४० वटा मोबाइल टेलिफोन बेलहिया नाकाबाट मात्रै भित्रिएका छन्। मोबाइल टेलिफोनबाट १४ लाख १८ हजार ७ सय ६४ रुपैयाँ राजश्व संकलन भएको छ।
त्यसैगरी गत आर्थिक वर्षमा एमएस विलेटबाट ४ अर्ब ४० करोड ५ लाख ९३ हजार, पेट्रोलबाट ४ अर्ब ६ करोड २५ लाख १४ हजार र ग्लेज टाइलबाट ३ अर्ब ४९ करोड ८ लाख ९४ हजार राजश्व संकलन भएको छ।
अघिल्लो वर्ष ३० अर्व ९९ करोड ८९ लाख ६६ हजार मूल्य बराबरको एमएस विलेट आयात भएकोमा गतवर्ष झण्डै १० अर्ब मूल्यले कमि २० अर्ब ६१ करोड ५१ लाख ७७ हजार मूल्य बराबरको आयात भएको छ।
त्यस्तै हाइस्पीड डिजेलबाट २ अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्याँसबाट २ अर्ब ९ करोड ४५ लाख ७७ हजार, मार्बल स्याल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख ८ हजार राजश्व संकलन भएको पासवानले जानकारी दिए।
पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्दै जाँदा आयातमा वृद्धि भएकोले लक्ष्यभन्दा बढी राजश्व असुल भएको पासवानले बताए।
गत आर्थिक वर्षमा आयातबाट १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको बेलहिया भन्सार कार्यालयले नेपालबाट सामान भारत निर्यात गर्दा जम्मा १ करोड ५० लाख ६९ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको जनाएको छ।
नेपालबाट सेन्थेटिक यार्न, भटमासको प्रशोधित तेल, पिना, खोटो–रेजिन, खजुरको प्रशोधित तेल, लिडसिसा, चोकर, भुस, चाउचाउ, पास्ता, स्टीलका भाँडाकुँडा, डण्डी ट्युबहरु, जडीबुटी लगायतका सामान निर्यात हुँदै आएपनि न्यून मात्रामा छन्।
आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी भटमासको तेल निर्यातबाट राजश्व संकलन भएकोमा गत आर्थिक वर्ष २०७८/७९ मा भने सेन्थेटिक यार्नबाट राजश्व संकलन भएको छ।
गत वर्ष १ अर्ब ९० करोड मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी १ अर्ब ५ करोड २७ लाख ३५ हजार मूल्य बराबरको भटमासको तेल, ५५ करोड ३२ लाख ६७ हजार मूल्यको पिना, ४७ करोड ८४ लाख ५४ हजार मूल्य बराबरको खोटो, ४४ करोड ६५ लाख ६४ हजार मूल्यको खजुरको प्रशोधित तेल र ३९ करोड ३ लाख २५ हजार मूल्यको लीडसिसा भारत निकासी भएको छ।
त्यस्तै ३५ करोड ८१ लाख ७ हजार बराबरको चोकर भुस, २५ करोड ४६ लाख बराबरको काँच र डण्डी निर्यात भएको छ भने बेलहिया नाकाहुँदै २१ करोड ३६ लाख ३८ हजार मूल्य बराबरको चाउचाउ र पास्ता भारत निकासी भएको भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा विभागले दिएको लक्ष्यको ९० दशमलब ९४ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको बेलहिया भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० का लागि १ खर्ब ५५ अर्बको लक्ष्य पाएको छ।
भन्सार विभागले बेलहिया भन्सार कार्यालयलाई चालु आर्थिक वर्षका लागि १ खर्ब ५५ अर्बको लक्ष्य सुम्पिएको हो।
संघीय सरकारले बजेटको आकार बढाएको र सोको लागि राजश्व संकलन बढाउनु पर्ने भएकाले विभागले अघिल्लो वर्षको भन्दा करिब ४० अर्ब धेरै लक्ष्य कार्यालयलाई दिएको सूचना अधिकृत पासवानले जानकारी दिए।