राष्ट्र बैंकले कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति-प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनरकर्जा सुविधा उपलब्ध गराउने गरी निरन्तरता दिइने बताएको छ।
पुनरकर्जा सुविधालाई २०८१ असार मसान्तसम्म क्रमशः घटाउदै लैजाने उल्लेख गरेको छ।
कोभिड लगत्तै राष्ट्र बैंकले आफ्नो कोषमा रहेको रकमको पाँच गुणासम्म पुनरकर्जा सुविधा दिने व्यवस्था गरेको थियो। अर्थतन्त्र चलायमान बनाउन भन्दै यस्तो सुविधा दिन राष्ट्र बैंकले नोट नै छापेको थियो।
राष्ट्र बैंकले पछिल्लो पटक आफ्नो कोषको ४.१२ गुणासम्म (दुई खर्ब १२ अर्ब रूपैयाँ) मात्रै पुनरकर्जा दिने व्यवस्था गरेको थियो। हाल राष्ट्र बैंकको कोषमा करिब ४२ अर्ब ४० करोड बराबर रूपैयाँ छ।
गत पुससम्ममा बैंक तथा वित्तीय संस्थामार्फत राष्ट्र बैंकले दिँदै आएको पुनरकर्जा एक खर्ब ५८ अर्ब रूपैयाँसम्म थियो। जेठसम्ममा भने लगानीमा रहेको यस्तो पुनरकर्जा एक खर्ब १५ अर्ब रूपैयाँमा सीमित भएको छ।
राष्ट्र बैंकले तीन शीर्षकमा पुनरकर्जा जारी गर्छ। लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष र साधारण पुनरकर्जाको रूपमा बैंकहरूमार्फत लगानी भइरहेको छ।
राष्ट्र बैंकले अर्धवार्षिक समीक्षाबाट असल कर्जाको धितोमा प्रदान गरिने पुनरकर्जामा बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट अधिकतम ७ प्रतिशत ब्याजदर लिन पाउने व्यवस्था गरेको छ।
यसअघि राष्ट्र बैंकले बैंकहरूलाई एकदेखि तीन प्रतिशतमा पुनरकर्जा उपलब्ध गराउन्थ्यो भने बैंकहरूले ग्राहकसँग तीनदेखि पाँच प्रतिशतसम्म ब्याजदर लिन पाउथे।
हाल राष्ट्र बैंकले बैंकहरूलाई ४ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, २ प्रतिशतमा विशेष पुनरकर्जा र ५ प्रतिशतमा साधारण पुनरकर्जा रकम प्रदान गर्छ। बैंकहरूले भने यिनमा ग्राहकसँग क्रमशः ७ प्रतिशत, ५ प्रतिशत र ७ प्रतिशत लिन पाउँछन्।