राष्ट्र बैंकले घरजग्गाको धितोमा जाने कर्जामा कडाइ गरेको छ।
शुक्रबार २०७९/८० को मौद्रिक नीति ल्याएको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी प्रयोग नखुलेका ओभर ड्राफ्ट, धितो कर्जा सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कडाइ गरेको हो।
यस्तो कर्जा लिँदा राखिने घरजग्गा धितोको मूल्यको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गरेको छ।
यसको अर्थ काठमाडौंको जग्गा धितो राख्दा बजार मूल्यको ३० प्रतिशत बराबर मात्र यी कर्जा पाइने छ भने अन्य स्थानको धितोमा मूल्यको ४० प्रतिशत पाइनेछ।
यसअघि यस्तो अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म थियो।