आगामी तीन महिनामा १४ प्रतिशतको दरमा मूल्य वृद्धि हुने सर्वसाधारणले अपेक्षा गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वसाधारणको महँगी अपेक्षासम्बन्धि प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो।
राष्ट्र बैंकले गत असार २० गतेदेखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रमा एक हजार एक ४१ व्यक्तिमा सर्वेक्षण गरेको थियो।यद्यपी सहभागीहरूले आगामी एक वर्षमा भने मूल्य वृद्धिदर १३.५ प्रतिशतमा सीमित हुने अपेक्षा गरेका छन्।
गत असारमा सर्वेक्षणको बेला पनि सर्वसाधारणहरूले करिब १४ प्रतिशत मूल्य वृद्धि रहेको अपेक्षा गरिरहेका थिए।
गैर-खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेक सबै उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने सहभागीहरू बढेका छन्।
आगामी एक वर्षभित्र तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूहबाहेकका अन्य वस्तुको मूल्य धेरै नबढ्ने अपेक्षा गर्ने सहभागीको संख्या धेरै छ।
सर्वसाधारणको अपेक्षाले पनि महँगी घटबढ हुन सहयोग हुने भएकोले केही महिना यता राष्ट्र बैंकले यस्तो सर्वेक्षण गरेर सार्वजनिक गर्न थालेको छ।
बैंकले चालु आर्थिक वर्षमा सात प्रतिशतमा मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ।