सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङ छेडिएको छ।
आयोजनाले वर्षायामको झरी तथा भेलसँग जुध्दै ७१२४ मिटरको सुरुङ ब्रेक–थ्रु गरेको हो। हाल सुरुङ ढलान गर्ने काम भइरहेको आयोजनाले बताएको छ।
पावर हाउस र ड्यामको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाका प्रशासकीय अधिकृत रामराज रायले जानकारी दिए। उनका अनुसार निर्माणका सबै काम अन्तिम चरणमा छन्।
'जतिसक्दो चाँडो सकाउने लक्ष्य छ। पावर हाउसमा इलेक्ट्रोमेकानिकल काम भारतीय ठेकेदार कम्पनीले गरिरहेको छ। यो काम जति छिटो सकिन्छ, त्यति चाँडो आयोजना सकिन्छ,’ उनले सेतोपाटीसँग भने।
एक वर्षभित्र यो आयोजनाको एउटा युनिट सञ्चालनमा ल्याउने योजना रहेको रायले बताए।
‘हामीसँग जम्मा तीन वटा युनिट छ। १०२ मेगावाटलाई तीन भाग लगाउँदा ३४ मेगावाट हुन्छ। त्यति बिजुली आगामी वर्षदेखि नै उत्पादन हुन्छ,’ उनले भने।
आयोजनाको सुरुङ मार्गको बाँध क्षेत्रतर्फ निर्माण काम ९७ प्रतिशत सकिएको आयोजनाले बताएको छ। विद्युत मेकानिकल काम पनि तीव्र गतिमा भइरहेको उनले बताए। आयोजनाले प्रसारण लाइनअन्तर्गत टावर पनि बनाइरहेको छ। ट्यांकी निर्माण लगायत संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ। सबै आयोजनाको काम ८५ प्रतिशतभन्दा माथि भएकाले यही गतिमा निर्माण भए एक वर्षमा विद्युत उत्पादन सुरू हुने अनुमान छ।
२०७० सालमा सुरू भएको यो आयोजना सन् २०७४ सालमा सक्ने लक्ष्य थियो। तर २०७१ सालमा आएको जुरे पहिरो, २०७२ को भुइँचालो र भारतीय नाकाबन्दी, २०७३ को भोटेकोशी बाढी लगायत कारण आयोजनाको म्याद थपियो। निर्धारित कार्यतालिका अनुसार आयोजनाले अपेक्षित प्रगति हासिल गर्न सकेन।
कोरोनाका कारण पनि आयोजनालाई निकै असर पुगेको उल्लेख गरिएको छ। २०७७ असारमा निर्माणस्थल वरपर भोटेकोशी एवं आसपासका क्षेत्रमा आएको बाढी-पहिरो जस्ता कारणले पनि ढिलाइ भएको आयोजनाले बताएको छ।
उक्त ढिलाइका असरहरूको मूल्यांकन गरी आयोजनाका मुख्य ठेकदार कम्पनीहरू र परामर्शदाताको संयुक्त प्रयासमा आयोजनाले गति लिएको बताइएको छ। पछिल्लो समय कामले अपेक्षित गति लिएको आयोजनाको दावी छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो। यो आयोजनााको मुख्य कार्यालय भोटोकोशी गाउँपालिका-५ चाकुमा छ। बाँध क्षेत्र भोटेकोशी गाउँपालिकामा छ भने पावरहाउस बाह्रबिसे नगरपालिकामा पर्छ। यो आयोजनाको कुल लगानी करिब १५ अर्ब अनुमान छ।
यस आयोजनामा पुँजी लगानीका लागि कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भइसकेको छ।
कम्पनीको सेयर संरचनाअनुसार चिलिमे हाइड्रोपावर कम्पनीको ३७ प्रतिशत, विद्युत प्राधिकरणको १० प्रतिशत र अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु भोटेकोशी हाइड्रोपावरको १/१ प्रतिशत शेयर लगानी छ। आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गरेको छ।
यो आयोजनाको संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३.५ प्रतिशत, कर्मचारी सञ्चय कोषका योगदानकर्तालाई १९.५ प्रतिशत, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर बाँडफाँट गरिएको छ।