राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डको ७१ प्रतिशत काम भएको छ। २०७३ मंसिरदेखि सुरू भएको यो आयोजना आगामी आर्थिक वर्ष २०८०/०८१ मा सक्ने योजना छ।
मालढुंगा, पर्वतबाट कोरला, मुस्ताङसम्मको यो सडकको लम्बाई २०२ किलोमिटर छ। यो खण्ड निर्माणका लागि दस अर्ब ३५ करोड रूपैयाँ लागत अनुमान गरिएको छ। हालसम्म झन्डै ६ अर्ब (पाँच अर्ब ८४ करोड) रूपैयाँ खर्च भएको आयोजनाले बताएको छ।
करिडोरको मालढुंगा-बेनी १३ किलोमिटर, बेनी-जोमसोम ७४ किलोमिटर र जोमसोम-कोरला ११५ किलोमिटर गरी तीन खण्डमा काम भइरहेको छ।
आयोजनाका अनुसार सडक निर्माणका लागि १४ वटा ठेक्का छन्। कालोपत्रेका लागि ७ र ग्राभेलका लागि ७ ठेक्का छन्। यीमध्ये ६ वटा ठेक्काको काम पूरा भएको भएको छ। ग्राभेल र कालोपत्रेको काम ८५ प्रतिशत सकिएको सडक विभागका महानिर्देशक अर्जुन जंग थापाले जानकारी दिए।
'बेनी-जोमसोम खण्डको ७४ किलोमिटर कालोपत्रे गर्नुपर्नेमा २६ किलोमिटर सकिएको छ। यो खण्डमा ३८ वटा पुल बनाउनुपर्नेमा पाँच वटा सकिए। १६ वटा बनिरहेका छन्,' उनले भने।
उनका अनुसार १९ वटा पुलको डिजाइन तयार गरिएको छ।
गत आर्थिक वर्ष २०७८/०७९ मा यो सडक २० किलोमिटर चौडा गर्ने लक्ष्य थियो। त्यसमध्ये १९ किलोमिटर चौडा गरिसकिएको विभागले बताएको छ।
कुल २०२ किलोमिटरमध्ये १७४ किलोमिटर चौडा गरिसकिएको छ। गत वर्ष ३१ किलोमिटर ग्राभेल गर्ने लक्ष्य राखिएकोमा ३० किलोमिटर गरिएको छ। त्यस्तै ३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकामा २० किलोमिटर सकिएको छ। चार वटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा दुइटा मात्र बनेका छन्।
चालु आर्थिक वर्ष २०७९/०८० मा ८ वटा पुल बनाउने लक्ष्य छ। त्यस्तै थप २० किलोमिटर सडक चौडा, ३० किलोमिटर ग्राभेल र ३५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ।
यो खण्डमा भिरकोटेमा ३०० मिटर सुरूङ बनाउने काम पनि बाँकी छ। त्यस्तै रूप्सेमा गएको बाढी-पहिरोका कारण बनिरहेको पुलमा पूर्ण क्षति पुगेको छ।
'त्यो पुलमा पूर्ण क्षति पुगेको छ। अब पुरानो ठेक्का खारेज गरेर त्यहाँ नयाँ डिजाइनको पुल बनाउनुपर्नेछ,' महानिर्देशक थापाले भने।
म्याग्दी खण्डको विभिन्न स्थानमा गएको पहिरो नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएको आयोजनाले बताएको छ। पन्ता खोलामा बनेको ५० मिटर लामो पुल बनाइएको थियो। यसको लम्बाइ छोटो भएकाले २०० मिटर लामो पुल आवश्यक रहेको थापाले बताए।
पर्वत म्याग्दी जोड्ने पुल चौडा हुने गरी निर्माण गरिने आयोजनाले बताएको छ। कागबेनी-लामान्थांग-कोरलासम्मको सडक कालोपत्रे गर्न बाँकी छ। त्यस्तै सेते खोला, सुन खोला, बोक्सी खोला र थापा खोलामा बन्ने पुलको ठेक्का लगाउन बाँकी भएको आयोजनाले बताएको छ।
यो खण्डको तातोपानी कुण्डमा सडक विस्तार कार्यमा बाटो परिवर्तन माग गरिएको छ। त्यस्तै टुकुचे मुस्ताङमा १.२५ किलोमिटर सडक बस्ती भएर डिजाइन भएको छ। यसमा पनि बस्तीबाहिर हुने गरी परिवर्तन गर्न माग गरिएको छ। यही कारण उक्त खण्ड निर्माण हुन नसकेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।
हाल टुकुचेमा बस्ती भएकै ठाउँबाट सडक विस्तार गर्ने गरी छलफल भइरहेको प्रजापतिले बताए।
यो खण्डमा भौगोलिक धरातल कमजोर भएकाले पनि अत्यधिक नदी कटान तथा पहिरोले समस्या निम्त्याएको उनले बताए।
सडक विभागको स्वीकृति नलिई शाखा सडक विस्तार गर्ने प्रवृत्तिका कारण पनि बाढी पहिरो जस्ता प्रकोपको समस्या बढेको विभागका महानिर्देशक थापाको भनाइ छ।
'पहिरोका कारण विभिन्न स्थानमा पटकपटक क्षति पुगेको छ। पहिरो सम्भावित तीन-चार ठाउँमा हामीले अध्ययन गराएका छौं,' उनले भने।
सडक सीमाभित्र पर्ने रुख कटान, स्थानीय निर्माण सामग्री उत्खनन, वन तथा स्थानीय निकायमा समन्वय नहुँदा पनि सडक विस्तारमा समस्या परेको आयोजनाले बताएको छ। सार्वजनिक जग्गामा बनेका घर-टहराको क्षतिपूर्ति दिन समस्या हुँदा पनि आयोजना प्रभावित भएको उनले बताए।
यो खण्ड निर्माण पूरा नभए पनि बेनी–जोमसोम यात्रा गर्न सहज भएको आयोजना प्रमुख प्रजापति बताउँछन्।
'पहिले बेनी-जोमसोम यात्रा गर्न ८ घन्टा लाग्थ्यो,' उनी भन्छन्, 'हिजोआज ४ घन्टामा गर्न सकिन्छ।'