पश्चिम सेती जलविद्युत आयोजना र सेती-६ को सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपालले र भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग सम्झौता गरेको छ।
लगानी बोर्डले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सम्झौता गरेको हो।
सम्झौता पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट र एनएचपिसीका अध्यक्ष अभयकुमार सिंहले हस्ताक्षर गरेका हुन्।
पत्रअनुसार प्रस्तावकले पश्चिम सेती जलविद्युत परियोजना सर्वेक्षण अनुमति पत्रका लागि हस्ताक्षर भएको मितिले ४५ दिनभित्र आवेदन गर्नुपर्नेछ। सेती-६ परियोजनाका लागि छ महिनाभित्र आवेदन गर्नुपर्नेछ।
सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी लगानी बोर्डमा प्रतिवेदन पेस गर्नुपर्नेछ। जसमा परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष समेटिएको हुनुपर्छ।
त्यस्तै परियोजनाको अनुमानित लागत, बजार सुनिश्चितता, वित्तीय स्रोत सुनिश्चितता लगायत विषय प्रतिवेदनमा समेटिएको हुनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।
परियोजना विकास सम्झौता (पिडिए) का निम्ति दुई पक्षबीच वार्ता हुनेछ। यसमा लगानी बोर्डले सहजीकरण गर्ने उल्लेख छ।
बोर्डका प्रवक्ता अमृत लम्सालले धेरै जलविद्युत आयोजना विकास गरिसकेको एनएचपिसीले जिम्मेवारी सफल रूपमा पूरा गर्ने विश्वास व्यक्त गरे। यसमा नेपाल सरकार र एनएचपिसी जिम्मेवार भएर अघि बढ्ने उनले बताए।
भारतीय कम्पनी एनएचपिसीले हालसम्म सात हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन हुने जलविद्युत आयोजना निर्माण गरिसकेको बताएको छ। आफ्नो जिम्मेवारी समयमै सक्ने प्रतिबद्धता कम्पनीले गरेको छ।
सरकारले सार्वजनिक निजी साझेदारी अवधारणाका आधारमा सो आयोजना अगाडि बढाउन भारतीय कम्पनी एनएचपिसीलाई जिम्मा दिएको हो। सन् १९८०/०८१ मा फ्रेन्च कम्पनी स्रोग्रेह कन्सल्टेन्टले पहिलो पटक पश्चिम सेती जलविद्युत आयोजना अध्ययन गरेको थियो। त्यसपछि अस्ट्रेलियाको स्मेकले पनि पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा चासो राखेको थियो। सन् १९९७ मा नेपाल सरकार र स्मेकबीच परियोजना सम्झौता भएको थियो।
सम्झौताअनुसार वित्तीय व्यवस्थापन सक्नुपर्ने समयावधि पटकपटक थप गरिए पनि स्मेक असमर्थ भयो। त्यसपछि सरकारले स्मेकसँगको सम्झौता सन् २०११ मा खारेज गरेको हो।
पछिल्लो पटक सन् २०१२ मा सरकारले चिनियाँ कम्पनी सिटीजिआइलाई पश्चिम सेती निर्माणको जिम्मा दिएको हो। चिनियाँ कम्पनीले जिम्मा लिए पनि पश्चिम सेती जलविद्युत आयोजना अगाडि बढ्न सकेन। प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्रिम सेती जलविद्युत आयोजनाको कुल लागत एक अर्ब ३२ करोड अमेरिकी डलर अनुमान गरिएको छ। त्यस्तै ४५० मेगावाट क्षमताको सेती-६ को अनुमानित लागत ८ करोड अमेरिकी डलर छ।
यी आयोजनालाई पश्चिम नेपालको आर्थिक समृद्धि र विकासको आधारका रूपमा लिइएको छ।