जोरपाटी–सुन्दरीजल सडकको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ। मर्मत तथा विस्तार सुरू भएको ६ वर्षपछि यो सडकखण्डको काम मुस्किलले ७५ प्रतिशत सकिएको हो। सात किलोमिटर उक्त सडक हाल करिब पाँच किलोमिटरभन्दा बढीमा काम सकिएको छ।
करिब ६ मिटर चौडा यो सडक खण्ड २०७३ असारमा २२ मिटरमा विस्तार गर्ने गरी ठेक्का लगाइएको थियो। गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग सम्झौता गरी २०७४ सालमा मर्मत तथा विस्तार काम सुरू गरेको थियो।
दायाँबायाँ ११/११ गरी २२ मिटर चौडा सडक विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएपछि स्थानीयले मुआब्जा तथा क्षतिपूर्ति माग गरे। सरकारले आफ्नो व्यक्तिगत सम्पत्ति अधिग्रहण गर्दा उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग थियो।
आयोजनाका सूचना अधिकारी महानन्द जोशी सरकारले जमिनको मुआब्जा नदिँदा सडक विस्तारमा लामो समय अवरोध सिर्जना भएको बताउँछन्।
'सरकाले भौतिक संरचनाको मात्रै मुआब्जा दिन्छ। जमिनको दिँदैन। त्यहाँका कतिपय स्थानीयले जमिनको पनि मुआब्जा मागेका थिए। यसमा धेरैले अटेर गरिरहे। जसले गर्दा योजनाअनुसार काम हुन सकेन,' सूचना अधिकारी जोशीले भने।
जमिन, घर, खानेपानीका पाइप, बिजुलीका पोल र टेलिकमका तारहरू लगायत हटाउन मुआब्जाको कुरा नमिल्दा सबैतिर सडक चौडा हुन नसकेको उनको भनाइ छ।
'नयाँपाटीतिर चाहिँ सेनाले जग्गा दिएकाले फराकिलो बन्यो, अरू प्रायः सबैतिर साँघुरै छ,' उनले भने, 'मुआब्जामा कुरा नमिलेकै कारण स्थानीयले लामो समयदेखि सडक विस्तारमा अवरोध गरेका छन्।'
त्यस बेला स्थानीयले क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। जसले फेरि विस्तारको लामो समयसम्म रोकियो। २०७४ असोजमा सर्वोच्चले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गर्यो। फैसला पुनरावलोकन गर्न सडक विभागले दिएको पुनरावेदनमा पनि मुआब्जा दिएरै सडक विस्तार गर्न अदालतले आदेश गरिसकेको छ।
तर त्यसपछि पनि सरकारले स्थानीयले माग गरेअनुसार मुआब्जा दिन सकेन। अनि सर्वोच्चको फैसला ध्यानमा राख्दै यो सडक दायाँबायाँ गरी १४ मिटर मात्र विस्तार गर्ने मन्त्रिस्तरीय निर्णय भयो। उक्त निर्णयले सार्वजनिक जग्गा भएको ठाउँमा २२ मिटर र स्थानीयको जग्गा पर्ने ठाउँमा १४ मिटर मात्र सडक विस्तार गर्ने सहमति प्रदान गर्यो।
यसपछि दायाँबायाँ ७/७ गरी १४ मिटर चौडा सडक निर्माण गर्ने, स्थानीयको कुनै पनि भौतिक संरचना नभत्काउने गरी यथास्थितिमै योजनाअघि बढेको हो। हाल यथास्थितिमै निर्माण भइरहेको छ। यसले गर्दा सडक कतै साँघुरो छ, कतै फराकिलो बनेको छ।
सार्वजनिक सडक ऐनले राजमार्ग, चक्रपथ, रणनीतिक सडक, सडक शाखा र प्रशाखाको मापदण्ड निर्धारण गरेको छ। नगरविकास निर्देशिकामा चक्रपथ सडक केन्द्रबाट दायाँबायाँ ३१/३१ मिटर चौडा हुनुपर्ने व्यवस्था छ। राजमार्ग सडक दायाँबायाँ २५/२५ मिटर, रणनीतिक सडक दायाँबायाँ ११/११ मिटर हुनुपर्ने व्यवस्था छ।
करिब ६९ करोड रूपैयाँ लागतमा बनाइने भनिएको यो सडकको स्वरूप योजनाअनुसार निर्माण गर्न सकिएन। कालोपत्रे गरेर काम सकिएको भनेको कतिपय ठाउँ अहिल्यै भत्किन थालिसकेको छ। कतै अझै धुलाम्मे र खाल्डाखुल्डी देखिन्छ।
आयोजनाका सूचना अधिकारी जोशी भने कालोपत्रे भइसकेको सडक निकै चिल्लो कालो भएको दाबी गर्छन्।
'कालोपत्रे गरेको सडक एकदमै राम्रो चिल्लो छ। नयाँपाटीतिर माटो र भेलले केही फ्रुस्रो देखिएको हो,' उनले भने।
सडकको छेउछाउमा खानेपानी र टेलिकमले विभिन्न स्थानमा मर्मतका लागि भत्काएको पनि छ। यसले गर्दा केही सडक पुनः निर्माण गर्नुपर्ने अवस्थामा पुगेको भने उनले बताए।
'गोकर्णभन्दा थोरैमाथि खानेपानी चुहावटका कारण बिग्रिएको छ। त्यस ठाउँमा वर्षाका कारण तुरून्तै मर्मत पनि गर्न सकिएको छैन,' उनले भने।
खानेपानी र टेलिकमले भत्काएका स्थानमा मर्मतका लागि धरौटी राखेको उनले बताए। सोही रकमबाट ती स्थानमा पुनः मर्मत गरिने पनि उनले जानकारी दिए।
'हामी अब झारपात, माटो, हिलो सबै सफा गरेर डेन्टिङ-पेन्टिङ गरेर चिटिक्क बनाउँछौं,' उनले भने।
यो सडक तत्काल मर्मत तथा विस्तार गरी दैनिक सडक प्रयोग गर्ने गागलफेदी, भद्रवास, सुन्दरीजल, नयाँपाटी, गोकर्ण, जोरपाटी तथा आलापोट लगायत स्थानका नागरिकलाई सास्ती कम हुने विश्वास गरिएको छ। तर विस्तारका कारण भत्काइएको सडक निर्माणले लामो समयसम्म गति नलिँदा आउजाउ गर्न मानिसहरूले ठूलो सास्ती झेल्नुपर्यो। वर्षामा हिलो र हिउँदमा धूलो सडक अस्तव्यस्त बन्यो।
अझै पनि यो आयोजनाले पूर्णता पाएको छैन। अघिल्लो वर्ष आयोजनाले गत चैतमै सडकको सबै काम सकिने बताएको थियो। चैत मसान्तसम्म काम नसके ठेकेदारलाई कारबाही गरिने सूचना अधिकारी जोशीले बताएका थिए। तर अझै काम सकिएको छैन।
अब भने काम अन्तिम चरणमा पुगेको जोशी बताउँछन्। यो सडकको निर्माण यही आर्थिक वर्षभित्र यथास्थितिमै सकेर हस्तान्तरण गरिने उनको भनाइ छ।
'यो खण्ड अन्तिम चरणमा पुगेको छ। अब यो वर्षभित्र हाम्रो मातहत निर्माण भइरहेका अरू सबै सडकको काम पनि सकिन्छ,' उनले भने।