बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) बीच सम्झौता भएको छ।
वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने र सो का आधारमा अर्थतन्त्र तथा बैंक तथा वित्तीय क्षेत्रको सुधार गर्नका लागि नीतिगत बहस तथा पैरवी गर्ने विषयमा आज सम्झौता भएको हो।
उक्त सम्झौतामा दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सवलीकरण सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ। त्यस्तै नियमको प्रभाव मूल्याङ्ककन तथा बहस पैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योगवाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत अन्य सम्बन्धित निकायसँग संयुक्तरुपमा पहल गर्ने उल्लेख गरिएको छ।
उल्लिखित विषयमा सरोकारवाला पक्षबीच छलफल गरी अध्ययन तथा अनुसन्धान गर्ने र सुझावहरुसहितको प्रतिवेदन पेश गर्ने सम्झौता भएको हो।
- देशमा अहिले बढ्दै गइरहेको आर्थिक समस्याहरु र समाधानका उपायहरू।
- बैंक तथा वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरू।
- स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गर्ने नीति र वातावरण सुधार।
- औधोगिक एवं व्यवसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु। साथै, वैदेशिक व्यापारमादेखिएका समस्या र समस्या न्यूनिकरणका उपायहरू।
- वित्तीय एवं मौद्रिक नीति/नियम र कार्यविधिहरूको प्रभाव विश्लेषण तथा सुधारका पक्षहरू।
- चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९ ले सृजना गर्न सक्ने समस्या, असर र समाधानका उपायहरू।
- बैंकिङ, डिजिटल बैंकिङ, वित्तीय एवं मौद्रिक नीति, वैदेशिक व्यापार, एफडिआई सम्बन्धी विषयहरू,
- पूँजी बजार विकास, नीतिगत प्रभाव मूल्याङ्कनका विषयमा बहस तथा पैरवी गर्नेलगायत अन्य राष्ट्रियमहत्वका आर्थिक एवं वित्तीय कार्यक्रम संचालन।