बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत आयोजनााको बिजुली किन्न आगामी महिना खरिद सम्झौता गर्ने भएको छ।
नेपाल-बंगलादेशको उर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धी संयुक्त निर्देशन समिति बैठकमा बंगलादेश पक्षले आगामी सेप्टेम्बर महिना भित्र ५०० मेगावाट विद्युत खरिद सम्झौता गर्ने चासो देखाएको हो।
नेपाल-बंगलादेश उर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धमा १० अगस्ट २०१८ मा समझदारी भएको थियो।
सोही समझदारीअनुसार सहसचिव स्तरीय संयुक्त कार्य समुह (जइन्ट वर्किङ ग्रुप) को चौथो बैठक यहि भदौ ८ गते र सचिवस्तरीय संयुक्त निर्देशन समितिको चौथो बैठक भदौ ९ गते काठमाडौंमा भएको हो।
संयुक्त निर्देशक समति बैठक नेपाल सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारी तथा बंगलादेश सरकारको पावर इनर्जी एण्ड मिनरल रिसोर्सेजका सचिव मोहमद हबिबुर रहमानको सहअध्यक्षतामा भएको हो।
उक्त बैठकले नेपाल र बंगलादेशबीच नवीकरणीय उर्जा क्षेत्रमा सहयोग आदानप्रदान गर्ने लगायत विषयहरूमा छलफल भयो।
यस्ता छन् बैठकमा सहमती भएका मुख्य पाँच विषय
- बंगलादेशको भेरामारामा अवस्थित एचभिडिसी (हाई भोल्टेज डाइरेक्ट करेनट) संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने देखिएको छ। विद्युत खरिद-बिक्री सम्झौता गर्न नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र विद्युत व्यापार लिमिटेडले विद्युत व्यापार निगमलाई अनुरोध गर्ने सहमती भएको छ।
- जलविद्युत क्षेत्रमा सहकार्य गर्न प्रस्तावित सुनकोशी ३ जलविद्युत आयोजना (६८३ मेगावाट) को विकासका सम्बन्धमा वातावरणीय अध्ययन प्रतिवेदन समेत यथाशीघ्र बंगलादेशी पक्षलाई उपलब्ध गराउने र अध्ययन प्रतिवेदनहरूमा बंगलादेश पक्षले छिट्टै आफ्नो धारणा दिने एंव आयोजना विकासका लागि संयुक्त उपक्रम गठन गर्ने प्रकृया अघि बढाउने।
- नेपाल बंगलादेश डेडिकेटेड विद्युत प्रसारण लाइन निर्माण गर्न बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय समझदारीका लागि दुवै पक्षले पहल गर्ने।
- सोलार होम सिस्टमलगायत नवीकरणीय उर्जाको क्षेत्रमा सहकार्यका लागि नेपालको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र बंगलादेशको सस्टिनेबल एण्ड रिन्युएबल इनर्जी डेभलपमेन्ट अथोरिटीबीच समझदारीको मस्यौदा एक महिनाभित्र उपलब्ध गराउने।
- बंगलादेश पावर म्यानेजमेन्ट इन्ष्टिच्युट ले दिने तालिम र जलविद्युत आयोजनाहरूमा नेपालले हासिल गरेको अनुभव आदानप्रदान कार्यक्रम लगायत दुई पक्षीय क्षमता अभिवृद्धिका लागि भावी कार्यदिशा तयार गर्न नेपाल बंगलादेश संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिने।