चालु पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।
राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भिर असर गर्न सक्ने चेम्बरको ठहर छ।
चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै चालु पुँजी कर्जा सम्बन्धमा पर्ने असर बारे विभिन्न ११ बुँदामा राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।
'चालु पुँजी कर्जा सम्बन्धमा उल्लेखित प्रावधानले आवश्यक्ता अनुसारको कर्जा माग गर्न असहज हुने, उद्योग व्यापार घटाउने, आर्थिक गतिविधी विस्तारमा रोक लगाउने एवं रोजगारीमा असर देखिन सक्छ,' चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
चालु पुँजी कर्जा लिएपछि ऋणीले चल्ती खाता र कर्जा खाता छुट्टा–छुट्टै सञ्चालन गर्नुपर्ने व्यवस्था प्रति पनि चेम्बरले आपत्ति जनाएको छ।
चेम्बरले भनेको छ, 'पछिल्लो प्रावधानले व्यवसायबाट भएको आम्दानी तत्काल कर्जा खातामा दाखिला गर्न नसक्ने भएकाले ब्याजको दायित्व झन् बढ्ने देखिन्छ। यसकारण एकल रूपमा कर्जा खाताको मात्रै व्यवस्था अनिवार्य गरिनु पर्दछ।'
चालु पुँजी सम्बन्धी प्रावधानले समग्र उद्योगी व्यवसायी र बैंक वित्तीय संस्थाबीच क्रम भंगता हुने समेत चेम्बरको ठहर छ।
अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधी बढाउनु पर्ने भएपनि चालु पुँजी कर्जा सम्बन्धी पछिल्लो व्यवस्थाले उद्योग व्यवसाय ठप्प हुने अवस्था रहेको चेम्बरले जनाएको छ।
चेम्बर अफ कमर्सले चालु पुँजी कर्जा सम्बन्धी अव्यवहारिक नीति तत्काल संशोधन गर्न समेत सम्बन्धित निकायसँग आग्रह गरेको छ।